काठमाडौं। नेकपा एमाले स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित ११ जना नेतालाई पार्टीबाटै निष्काशित गरेको छ । आज बालुवाटारमा बसेको बैठकले पार्टी अनुशासनविपरित काम गरेको भन्दै कारबाहीको निर्णय गरेको हो ।
एमालेका साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेकामा माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ जना विघटित प्रतिनिधि सभाका सांसदहरु छन् । उनीहरुमाथि ९ जेठमा स्पष्टिकरण सोधिएपनि कुनै जवाफ प्राप्त भएको थिएन । प्रधानमन्त्री ओलीले हिजै कारबाही हुने जानकारी दिएका थिए ।
एमालेबाट निष्काशित भएकाहरुमा शेरबहादुर देउवालाई बहुमतको आधारमा प्रधानमन्त्री बनाउने विपक्षी गठबन्धनले राष्ट्रपति कार्यालयमा दर्ता गरेको निवेदनमा हस्ताक्षर गरेकाहरु छन् ।
निष्काशित भएकामा नेपाल र खनाल नवौं महाधिवेशनपछि वरिष्ठ नेता मनोनित भएका थिए । नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भीम रावल, विघटित प्रतिनिधि सभाका सांसदहरु रामकुमारी झाँक्री, सरला यादव, कल्याणी खड्का, पुष्पा कर्ण, मुकुन्द न्यौपाने, निरा जैरु, कलिना खान र लक्ष्मीकुमारी चौधरी पनि छन् ।