काठमाडौं : संसद्मा रहेका पाँच दलले मध्यरातमा संसद् विघटन गरेर चुनावमा जाने कदमलाई प्रतिगमनको संज्ञा दिदै कानुनी र राजनीतिक रुपमा संयुक्त संघर्ष गर्ने निर्णय गरेका छन्।
संसद् भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूह, जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्ष र जनमोर्चाको संयुक्त बैठकपछि यस्तो निर्णय गरेको हो। बैठकपछि पाँच दलहरूले निकालेको संयुक्त विज्ञप्तीमा संसद विघटन गर्ने कदमलाई प्रतिगमनको संज्ञा दिँदै त्यसलाई कानूनी र राजनीतिक प्रतिवाद गरेर संघर्ष गर्ने उल्लेख छ। वक्तव्यमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाबाट दुर्गा पौडेलको हस्ताक्षर छ ।
बैठकमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको गलत कदम खारेज गर्ने रणनीति र आन्दोलनबारे छलफल भएको थियो। वैकल्पिक सरकारका लागि राष्ट्रपतिकहाँ निवेदन दिने १४९ सांसदहरू यो कदम खारेजीको माग गर्दै सर्वोच्च जानेबारेमा पनि छलफल भएको थियो।
संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादर देउवा र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका दुवै दाबी खारेज गर्दै मध्यरातमा संसद् विघटन गरेर चुनावको मिति घोषणा गरेको थियो। विपक्षीहरूले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि जालसाजी गरेको भन्दै यो कदमलाई प्रतिगमनको संज्ञा दिएका छन्। विघटन गर्ने कदमको नागरिकस्तरबाट पनि यसको चर्को निन्दा र विरोध भएको छ।
मध्यरातमा राष्ट्रपतिले दुवै दाबी खारेज गरेपछि रातारात मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेर संसद् विघटन र चुनावको मितिको सिफारिस गरिएको थियो। त्यसलाई राति नै राष्ट्रपतिबाट सदर गरिएको थियो।
यसअघि पनि प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेर चुनावमा जाने निर्णय गरेका थिए। तर कदमलाई सर्वोच्चले फागुन ११ गते बदर गर्दै संसद् पुनःस्थापना गरिदिएको थियो। विघटन भएको संसद् पुनर्स्थापनाका लागि विपक्षीहरूले आन्दोलनसमेत गरेका थिए।