राष्ट्रियसभा उपनिर्वाचनमा ३३८ मत खस्यो !

हेटौंडा।

राष्ट्रियसभाको वाग्मती प्रदेशमा गराइएको उपनिर्वाचनमा ३३८ मत खसेको छ ।

बिहीबार दिउँसो ३ बजेसम्म तोकिएको मतदानमा १०५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २३३ जना गरी ३३८ जनाले मतदान गरेका हुन् ।

स्थानीय तहका ५ र प्रदेशसभाका ५ जना मतदानमा अनुपस्थित रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वाग्मती प्रदेशसभाका ११० सदस्य र पालिका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता रहेकामा दश मत नखसेको हो ।

मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको थियो भने विवेकशील साझा पार्टीका ३ जनाले मतदान बहिस्कार गरेका थिए ।

प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको १८ मतभार रहेकाले तीन उम्मेदवारले प्राप्त गरेको मतका आधारमा सबैभन्दा बढी मत ल्याउनेलाई विजयी घोषणा गरिनेछ ।

निर्वाचनमा सत्तारुढ नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेका माधव नेपाल पक्षतर्फबाट डा. खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ उम्मेदवार हुनुहुन्छ ।

मतदानका लागि विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । मतगणना सकाएर आजै परिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।

नेकपाको एकता विखण्डित भएपछि माओवादी केन्द्रबाट एमालेमा लाग्नुभएका थापालाई अध्यक्ष केपी ओली पक्षले उम्मेदवार बनाउँदा नेपाल पक्षका देवकोटालाई अरु विपक्षीले साझा उम्मेदवार बनाएका हुन् । यो निर्वाचनमा गृहमन्त्री थापाको जीत/हारलाई प्रधानमन्त्री ओलीको साखसँग पनि जोडेर हेरिएको छ ।

पार्टी विभाजनको मुखमा पुगेर समाधानको उपाय खोजिरहेको एमाले वृत्तमा यो निर्वाचन ओली–नेपाल पक्षमा लेप बन्छ वा विभाजनकारी तूरुप त्यो पनि मतदानपछि आउने परिणामले तय गर्नेछ ।

आफ्ना उम्मेदवार थापालाई मत नदिए ती सबैलाई कार्वाही गर्ने धम्कीपूर्ण वक्तव्य जारी गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार