एमालेका नेता माधव नेपाल पक्षका सांसदहरूले राजीनामा दिने तयारी गरिरहेका बेला एमालेका अध्यक्ष केपी शर्मा ओलीले सँगै बसेर आन्तरिक मतभेद समाधान गर्न अपिल गरेका छन्।
सोमबार पौनै एघार बजेतिर ओलीले ट्वीट गर्दै यस्तो आग्रह गरेका हुन्। उनले भनेका छन्, ‘आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं।’ नेपाल पक्षले पार्टी एकीकरणअघि अर्थात २०७५ जेठ २ मा फर्किने सर्तसहित सोमबार बिहान नौ बजेसम्मको अल्टिमेटम दिएको थियो। तर कुनै स्पस्ट प्रतिबद्धता नआएपछि माधव पक्षका सांसदहरू संसद भवनमा पुगेका छन्।
विश्वासको मतका लागि आग्रह गर्दै उनले भनेका छन्, ‘नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ ।त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ।’
ओलीले हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने बताउँदै भनेका छन्, ‘यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।’