लक्ष्मी सापकोटा, काठमाडौँ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गरिएको निषेधाज्ञाले दैनिक १० करोड रूपैयाँ बराबरको १९ लाख लिटर दूध खेर गएको छ ।
पछिल्लो समय बजारमा दूधको खपत कम भएपछि १० करोड रूपैयाँ बराबरको दूध खेर गएको हो । एक सातादेखि बजारमा दूधको खपत घट्दै गएको छ । अधिकांश मानिस गाउँमा गएको र बजारमा दूधको माग नै कम भएकाले खपत कम भएको हो ।
नेपाल डेरी एशोसिएसनका महासचिव प्रल्हाद दाहालले कोभिडको कारणले गर्दा बजारमा ६० प्रतिशत दूधको खपत घटेको जानकारी दिए । उनका अनुसार, अहिले बजारमा ४० प्रतिशत मात्र दूध बिक्री हुने गरेको छ । निश्चित समय मात्र पसल खोल्न पाउने हुँदा बिक्री गर्न नपाएको र माग नै कम भएकाले दूधको बिक्री हवात्तै घटेको उनको भनाइ छ । निषेधाज्ञा यता आठ दिनको अवधिमा खपत नहुँदा ८० करोड रुपैयाँ बराबरको दूध बिक्री नभएर खेर गएको उनले बताए ।
एसोसिएसनका अनुसार, सामान्य अवस्थामा दैनिक ६२ लाख दूध उत्पादन हुने गर्छ । ५० प्रतिशत दूध किसानले उपभोग गर्ने गर्छ भने ५० प्रतिशत दूध बजारमा आउने गर्छ । बजारमा ३२ लाख दूध आउने गरेकोमा अहिले १२ लाख लाख लिटर खपत हुने गरेको छ । अहिले ४० प्रतिशत मात्र दूध खपत भएको उद्योगीको भनाइ छ । दूध बिक्री नभएर किसानको पैसा दिनका लागि सबै उद्योगलाई समस्या परेको छ । दूधको किसानले पाउने मूल्य प्रतिलिटर ५५ रुपैयाँ र बजार मूल्य प्रतिलिटर ७६ रुपैयाँ रहेको छ ।
गत वर्ष ११ चैतदेखि भएको लकडाउनको कारणले लामो समयसम्म होटेल, पार्टी प्यालेस बन्द हुँदा दूध बिक्री हुने सकेको छैन । एक महिना अघिदेखि बजारमा दूधको खपत बढेर ९० प्रतिशतसम्म पुगेको थियो, महासचिव दाहालले भने, “फेरि निषेधाज्ञा भएपछि दूधको बिक्री नभएर किसानलाई रकम दिन नसक्ने अवस्था आएको छ ।” निषेधाको कारण ५० प्रतिशत उद्योग बन्द भइसकेका छन् । बजारमा ४० प्रतिशत दूधको माग छ भने किसानले पनि सोही अनुसार दूध ल्याउनुपर्ने उनको भनाइ छ । कोटा निर्धारण गरेर दूध बिक्री गरे सबैलाई बराबर घाटा हुने उद्योगीको भनाइ छ ।
उद्योगीका अनुसार गत सालकै ३ अर्ब रुपैयाँ बराबरको धुलो दूध र बटर टन्नै करिब ३ थन्किएको छ । अघिल्लो वर्षको धुलो दूध र वटर बिक्री नभएकाले थप बनाउन सक्ने अवस्था नभएको उद्योगीको भनाइ छ । बजारमा दूधको बिक्री नभएपछि किसानले घरमै उपभोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ । पुँजीको अभावका कारण किसानको भुक्तानी दिन सकेको छैन भने अब फेरि बजार ६० प्रतिशत घटेको अवस्थामा कसरी निरन्तर उद्योग सञ्चालन भनेर उद्योगी चिन्तित छन् ।
दैनिक शहरबाट गाउँसम्म करिब ४ करोड रुपैयाँ जाने गर्दछ । यसले आम किसानलाई गाउँमा दैनिक खर्च थान्न निकै सजिलो भएको छ । उद्योगीका अनुसार करिब ५ लाख किसानले प्रत्यक्ष रोजगार पाएका छन् भने करिब ३० हजार जना अन्य व्यक्तिले उद्योग स्थरमा रोजगार पाएका छन् । गाउँमा पशुपालनले गर्दा अर्गानिक उत्पादनमा ठूलो सहयोग पुग्ने गरेको छ ।
यसैबीच, दुग्ध विकास संस्थान (डीसीसी)ले पनि दूधको बिक्री आधाले घटेको बताएको छ । अन्य समयमा तुलनामा गर्मी समयमा दुग्धजन्य उत्पादनको खपत बढी हुने गर्छ । कोभिडको कारणले अधिकांश मानिसहरु घरमा गएको कारणले गर्दा पनि खपत घटन गएको हो । बिक्री नभएको दूधलाई घरमै घिउ बनाउन उद्योगीले किसानलाई आग्रह गरेका छन् ।