अक्सीजन नपाएर कञ्चनपुरका दुई शिक्षकले ज्यान गुमाए

इन्दु धामी/ महेन्द्रनगर, १८ बैशाख । कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका–७ बाबाथान स्थित लक्ष्मी माविका प्रध्यानाध्यापक शिक्षक लोकराज भट्ट लाई १५ गते सामान्य रुघाखोकी लाग्यो । सामान्य रुघा खोकी सँगै श्वास प्रश्वासमा पनि समस्या भएपछि उनलाई १६ गते महाकाली अस्पताल लगियो ।


महाकाली अस्पताल पुगेका प्रअ शिक्षक भट्टलाई नभन्दै पिसिआर परिक्षण गरेको भोलीपल्ट १७ गते ३ बजे कोरोना पोजेटिभ भनेर रिपोर्ट आयो । कोरोना परिक्षणमा पोजेटिभ रिपोर्ट आएपछी महाकाली अस्पतालमा उनलाई उपचार गर्ने निधो गरियो । तत्पश्चात उपचार गर्ने निधो गरिएको उनलाई अस्पतालमा उपचार गर्न आइसियु वेडको आवश्यकता भएको थियो ।

आवश्यकता अनुसार उनले आइसियु वेड खाली पाउने अवस्था नआएपछि महाकाली अस्पताल बाहिर अर्थात सेती प्रादेशिक अस्पताल कैलाली या उपक्षेत्रिय अस्पताल डडेल्धुरा आइसियुमा उपचार गर्ने योजना बनाइयो । उपक्षेत्रिय अस्पताल डडेल्धुरामा आइसियु वेड खाली छ भन्ने जानकारी भयो उनको थप उपचारको लागि डडेल्धुरा लग्ने कुरो भएपछि उनका आफन्तले एम्बुलेन्समा डडेल्धुरा लग्न तयार भए ।

र्पाेट आएको समयपछि झट्ट रुपमा एम्बुलेन्स पनि पाइएन । अक्सिजन नभएको एम्बुलेन्स पाएपछि अक्सिजन बिनाको एम्बुलेनसमा उनलाई उपचारको लागि उपक्षेत्रिय अस्पताल डडेल्धुरा लगियो । तर अक्सिजन नभएको एम्बुलेन्स भएका कारणले गर्दा उनको अक्सिजन अभावकै कारण डडेल्धुरा नपुग्दै  बाटो मै मृत्यु भयो ।

कोरोनाले आतंक भएको विश्व सँगै नेपाल पनि पछिल्लो समय कोरोना महामारीले नराम्ररी प्रभावित हुदै गएको छ । कोरोना रिर्पाेट नेगेटिभ आएपछि उनलाई उपचारको लागि महेन्द्रनगरबाट बाहिर लग्ने तायारी भैरहेको थियोे । २१ एम्बुलेन्सलाई फोन गरिएको भएपनि कुनै एम्बुलेन्सले पनि जान मानेन । कारण थियो कोरोना संक्रमण पुष्टि ।

वैशाख १५ गते सम्म आफ्ना सहकर्मी शिक्षक सँग टिपीडी तालिममा सहभागी भएका उनलाई एक्कासी सामान्य रुपमा रुघाखोकी तथा श्वाप्रश्वासमा समस्या देखिएपछि विहिवार महाकाली अस्पताल चेकजाँच गराउन गएका थिए ।

उनका सहकर्मी शिक्षक डम्मर दत्त जोशीका अनुसार तालिममै एक्कासी सामान्य रुपमा श्वासप्रश्वासको समस्या देखिएपछि प्रअ भट्ट महाकाली अस्पताल गएका थिए । “हाम्रो टिपिडी तालिम चलिरहेको अवस्था थियो, उहाँलाई केही समय अघिबाट सामान्य रुघाखोकी र श्वास प्रश्वासको समस्या सृजित हुँदै गएको थियो ।”

प्रअ भट्टका सहकर्मी शिक्षक डम्मर दत्त जोशीले भने,“ श्वास प्रश्वासमा त्यती धेरै समस्या पनि भएको थिएन लाग्छ, अस्पताल पुगेर चेकजाँच गर्दा भोली पल्ट कोरोना पोजेटिभ आयो, पोजेटिभ आएपछि थप उपचारको लागि अन्यत्र जाने भएपछि पनि एमबुलेन्स पाइएन, २१ एम्बुलेन्सले जान्न भनेपछि २२ औँ एम्बुलेन्स जान तयार भएपनि अक्सिजन बिनाकै एम्बुलेन्समा उहाँलाई थप उपचारको लासिग महेन्द्रनगर बाहिर लगियो ।” अक्सिजन बिनाकै एम्बुलेन्समा पठाएको प्रअ भट्टको बाटोमै निधन भयो ।

अक्सिजन अभावमा सहकर्मी प्रअ शिक्षकको मृत्यु भएको उनले बताए । कोरोना खोपको समयमा शिक्षकलाई खोपको प्राथमिकतामा नराखेकोमा शिक्षक जोशीको गुनासो रहेको छ । उनका अनुसार शिक्षकले धेरै विद्यार्थीको भिडमा बसेर अध्यापन गराउनु पर्ने बाध्यता रहेको भन्दै जोखिम झनै बढ्दै गएको उनको भनाई छ । “कोरोनाको खोप प्रतिकुल समय अनुसार शिक्षक क्षेत्रले पाउनु पर्ने हो तर त्यसो हुन् सकेन, सिमानाका क्षेत्रमा दैनिक हजारौ नेपाल प्रवेश गर्ने नेपाली नागरिकको भिड बढ्दै गएको छ ।, यसले गर्दा समाजमा पनि कोरोना संक्रमणको उच्च जोखिम रहेको छ, यसले गर्दा शिक्षा सँगै शिक्षक क्षेत्र पनि नराम्ररी प्रभावित हुने खतरा हुने अवस्था छ ।” शिक्षक जोशीले भने, ।

यसैगरी कञ्चनपुरमा तिन दिन अगाडि बिरामी भएकी भृकुटी माविकी शिक्षिका मञ्जु केसीकोे पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । तीन दिन अघि बिरामी भएकी भुकुटी माविकी शिक्षिकका पनि अक्जिसन र उचित उपचार अभावमा मृत्यु भएको छ ।

भृकुटी माविका सहायक प्रअ बिरेन्द्र प्रशाद भट्टले शिक्षकलाई एक खोप पनि नदिएको र बिरामी हुँदा समेत मृत्युकै मुखमा पुग्नुपर्ने बाध्यता रहेको बताए । ‘हामीले सहकर्मी गुएका छौँ, ‘उनले भने, ‘मुलुकमा यत्रो महामारी हुँदा समेत सरकारले नागरिकको स्वास्थ्यमा चासो दिएको छैन ।’ कञ्चनपुरमा हालसम्म कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि १२ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ ।

महाकाली अस्पतालमा अक्सिजन सँगै जनशक्ति पनि अभाव

कोरोना महामारीको बढ्दो प्रभाव सँगै कञ्चनपुरमा अक्सिजन तथा जनशक्ति अभाव सुरु भएको छ । झण्डै २ सय १४ जनाको दरबन्दी रहेको जिल्लाको महाकाली अस्पतालमा अहिले अस्पतालका डाक्टर लगायत नर्स, स्टाप गरेर २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका झण्डै २ दर्जन बढी दक्ष जनशक्ति कोरोना संक्रमित हुँदा अस्पताललाई भने दैनिक बिरामी धान्न समेत समस्या परेको छ ।

“अस्पतालमा जनशक्ति सँगै अक्सिजन अभाव हुँदै गएको छ, अस्पतालाई दैनिक बिरामी धान्न पनि समस्या हुँदै गएको छ ।” महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशीले भने, “दरबन्दी अनुसारको जनशक्ति परिपुर्ती नहुन सकेको अस्पताललाई भएको जनशक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएपछि भने अस्पताललाई धेरै समस्या भएको छ, प्रदेश सरकार सँग जनशक्ति शहजीकरणको लागि पहल गरिएको भएपनि सार्थकता भने पाउन सकेको स्थिती छैन ।”

महाकाली अस्पताललाई आइसियु, आइसोलेसन कक्ष गलाएर ५५ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । यस्तै ५५ जना कोरोना संक्रमित बाहेक २६ जना अस्पतालका कर्मचारी, डाक्टर नर्स तथा स्वास्थ्य कर्मीको भने छुट्टै उपचार भैरहेको अध्यक्ष जोशीले बताए ।

यता महाकाली अस्पतालको आइसियु वेड क्षमता भने निकै कम रहेको छ । ६ ओटा आइसियु वेड र ४ ओटा भेन्टिलेट कोरोना केसको लागि प्रयोगमा ल्याएको भएपनि सबै वेडमा बिरामी भरिएका छन् । आइसोलेसनमा भने १८ ओटा वेड खाली रहेका छन् । अस्पताल वयवस्थापन समितिका अध्यक्ष जोशीले अस्पताल सँग दक्ष जनशक्ति नभएका कारणले भएका उपकरण पनि सञ्चालनमा ल्याउन समस्या भएको उनको भनाई रहेको छ ।

“अस्पताल सँग भेन्टिलेरको अवस्था मौज्जात रहेको अवस्था छ, १० ओटा मध्ये ४ ओटा भेन्टिलेर मात्रै सञ्चालनमा रहेका छन् ।, बाँकी ६ ओटा भेन्टिलेटर भने जनशक्ति अभावका कारण सञ्चालन गर्न सकिएको अवस्था छैन, जनशक्ति परिपुर्ती भए सञ्चालन गर्ने अवस्थामा पुग्छौ ।” अध्यक्ष जोशीले भने, ।

यस्तै अस्पतालमा कोरोना संक्रमित बिरामीको सङ्ख्या पनि बढ्दै गएको छ । संक्रमितको सङ्ख्या बढ्दै गएकोले अस्पतालाई अक्सिजनको पनि अभाव सृजना भएको छ । अक्सिजन आपुर्तीको लागि सहज अवस्था नभएका कारण अस्पतालमा अक्सिजन अभाव हुन गएको अध्यक्ष जोशीले बताए ।

 

 

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार