योग गरौं, निरोग रहौं !

– गोपीकृष्ण ढुंगाना

मानिस आफूलाई होइन, अरूलाई चिन्न अभ्यस्त छ। त्यसैले हरसमय अरूसँग आफूलाई तुलना गर्छ; प्रतिस्पर्धी बनेर जुध्छ; दुस्मनी साँधेर पीडा र अशान्तमा छट्पटिन्छ र सुख र आनन्दबाट आफैं टाढा भाग्छ। उसले अपनाएका यी र यस्तै शैलीबाट आफ्नो स्वास्थ्य, सम्पत्ति, सम्बन्ध र संसार गुमाउँदै जान्छ। उसको भ्रम उसैले त तोड्न सक्दैन नै; अरूले भनेका सही कुरा पनि पत्याउँदैन र पछि परिरहन्छ। जब ठेस लाग्छ तब मात्र चेत्छ तर चेत आउँदासम्म समयले नेटो काटिसक्छ। धेरै कुरा बिग्रिसकेको हुन्छ। ऊ सम्हाल्न थाल्छ; बिग्रिएकोलाई बनाउन थाल्छ र टुटेकोलाई जोड्न थाल्छ तर उसलाई सबै कुराले बिदा दिने बेला आइसकेको हुन्छ। यतिबेला एउटा उखान सान्दर्भिक हुन्छ– मर्ने बेलामा हरियो काँक्रो।

हामी जीवनको एकतिहाइ उमेर शिक्षा ग्रहण गर्नमा खर्चिन्छौं तर ती सारा शिक्षाले पनि मानिसलाई आफैंलाई चिन्ने र आफूभित्र डुब्ने कला सिकाउँदैन। केवल सिद्धान्त जानेको मान्छे व्यावहारिक हुन पुनः वर्षौंको अनुभव लिन बाध्य हुन्छ। विडम्बना यही छ, गल्ती यतै कहीं भएको छ। आफू (जीवन) लाई नचिन्नेले जगत् चिन्ने कुरै भएन। शिक्षालाई दीक्षामा रूपान्तरण गर्दैन र ऊ सधैं अधकल्चो जीवन बिताइरहन्छ। सुखको खोजीमा दुःखी भइरहन्छ। शान्तिको खोजीमा आन्तरिक एवं बाह्य द्वन्द्वमा फसिरहन्छ। सधैं अरूबाट खोजिरहन्छ; लिइरहन्छ र आफू रित्तो बनेर मागिरहन्छ किनकि दिन जान्दैन र दिनुपर्छ भन्ने भावसमेत पलाउँदैन उसमा। दिँदा पाइन्छ भन्ने चुरो कुरो नबुझेरै कहिल्यै दिने हैसियत राख्दैन। लिनेलाई के थाहा दिनेहरूको संसार कति पवित्र, कति उत्कृष्ट अनि कति भव्य छ भनेर ?

योग र ध्यानभित्रै छ– सुख, शान्ति र समृद्धिको विशाल संसार। यो प्राप्ति गर्न न धनराशि खर्च गर्नुपर्छ न त धनराशि गरेर स्वास्थ्य बचाउन खरिद गरिने औषधिको जस्तो यसको कुनै साइड इफेक्ट। योग कुनै धर्म होइन, विज्ञान हो।

मानिसको जीवन रहस्मय छ, ऊ बाँचेको जगत् पनि। यो सृष्टि र यसको सञ्चालन पनि झनै रहस्यमय छ। जसले जीवन र जगत् छिचोल्न सक्छ, उसैले हो जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त गर्ने पनि। त्यसैले जीवन र जगत्लाई हरेक आयामबाट सूक्ष्म विश्लेषण गर्न जरुरी छ। यसको एउटा र मुख्य आधार भनेको योग र ध्यान हो। धेरैलाई भ्रम छ– ठूलो कुरो पाउन ठूलै चिज खोज्नुपर्छ; लाखौं–करोडौं खर्च गर्नुपर्छ। तर सानोबाटै ठूलो कुरो पाइन्छ र थोरैबाट धेरै पाइन्छ भन्ने त मानिसले प्रयोगमा ल्याएपछि मात्र प्रमाणित हुन्छ र बुझ्छ। त्यो हो– योग र ध्यान।

योग र ध्यानभित्रै छ– सुख, शान्ति र समृद्धिको विशाल संसार। यो प्राप्ति गर्न न धनराशि खर्च गर्नुपर्छ न त धनराशि गरेर स्वास्थ्य बचाउन खरिद गरिने औषधिको जस्तो यसको कुनै साइड इफेक्ट। योग कुनै धर्म होइन, विज्ञान हो। आम मानिसको बुझाइ यसरी भएको पाइँदैन।

योग र ध्यानबाट प्राप्त हुने ऊर्जाले मानिसलाई मानिससँग मात्र होइन, हरेक जीव र चराचर जगत्का अनेक आयामसँग योग गराउँछ।
ध्यानप्रतिको बुझाइ पनि आडम्बरी छ धेरैको। थुप्रै छन्– ध्यान बुझ्न नै नचाहनेहरू। सागर मन्थन गरेपछि मोती टिप्न सकिन्छ भन्ने बुझ्नेहरू नै हो डुबुल्की मार्नेहरू पनि। शान्ति र आनन्द खोज्न जीवनभर समय र पैसा खर्चिनेले ध्यान नबुझ्दा नै हो हरक्षण अशान्ति बनिरहने र द्वन्द्वमा अल्झिरहने। ‘मन अशान्त हुन्छ, यसलाई नियन्त्रण गर्न कठिन छ तर ध्यानको अभ्यासद्वारा मनदेखि पार हुन सकिन्छ’, श्रीमद्भगवद्गीतामा भनिएकै छ।

झन्डै एक वर्षदेखि कोरोना संक्रमणले विश्वव्यापी असर पारेको छ। जनजीवन अस्तव्यस्त बनाएको छ। नेपाल सरकारले पनि यही संक्रमणलाई मध्यनजर गरी ‘गरौं योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्य बनाएर माघ १ गते योग दिवस मनाएको छ। यसअघि पनि सरकारले ‘गरौं योग रहौं निरोग’, ‘स्वास्थ्य र समृद्धिका लागि योग’ लगायतका नारा (आदर्श वाक्य) तय गरी योगलाई जनमानसमा पुर्‍याउने काम गरेको थियो। योग दिवसका सन्दर्भमा योगको प्रार्दुभाव नेपालमै भएको र आज क्रमशः विश्वभर फैलिएको भए पनि नेपालीले नै योगको मर्म बुझ्न नसकेको तर्क आउने गर्छन्। सरकारले पछिल्लो समय योग, आयुर्वेद, जडीबुटी र प्राकृतिक चिकित्सामा जोड दिन थालेको छ। कक्षा ९, १०, ११ र १२ मा ऐच्छिक विषयका रूपमा योग शिक्षा, आयुर्वेद, प्राकृतिक चिकित्सा र जडीबुटी विषयको पाठ्यक्रम बनाएर कार्यान्वयनमा ल्याउनुले यसको महत्त्व बढ्दै गएको छ। व्यावहारिक जीवन हेर्ने हो भने यी चार विषयलाई अनिवार्य विषयको पाठ्यक्रम बनाएर व्यापकता दिन आवश्यक देखिन्छ।

प्राकृतिक चिकित्सक एवं योग ध्यानका विशिष्ट साधक डा. मानसाग्नि योगमा नेपाललाई विश्वकै गन्तव्य बनाउन सकिने तर्क राख्छन्। नेपालमा सुरुआत भएको योग विश्वका दुई सयभन्दा बढी देशमा दैनिक रूपमा गरिन्छ। योगले हरेक देशका नागरिक शारीरिक एवं मानसिक रूपमा स्वस्थ हुने मात्र होइन; सकारात्मक, आत्मविश्वासी र सफल पनि हुँदै जान्छ। यसलाई प्रयोग गर्न जान्यो भने रोजगार प्रवद्र्धनदेखि आर्थिक उपार्जनसम्म गर्न सकिन्छ। मानसाग्निकै भाषामा बुझ्ने हो भने एसईई सकेर बेरोजगार बनेकालाई मात्र योग शिक्षक बनाउन सके एकातिर मुलुकभरका नागरिक स्वस्थ हुन्छन् र अर्कातिर विश्व बजारमा पठाउने हो भने योगको प्रचारसँगै आर्थिक उपार्जन पनि। एकता र संस्कृति सिकाउने योगका अनुयायीबाट देशको संस्कृतिसमेत जोगिन्छ। सरकारले पनि दायरा बढाउँदै कक्षा १ देखि ८ सम्म पनि पाठ्यक्रममै योगलगायतका विषयलाई अध्यापन र अभ्यास गराउन सुरु गर्नुपर्छ।

ऊर्जाबाटै ब्रह्माण्डमा अनेक वस्तुको सिर्जना सम्भव छ। त्यो ऊर्जा प्राप्ति पनि योग र ध्यानका माध्यमबाटै सम्भव छ। ऊर्जा जीवन हो। ऊर्जा अभावमा मानिस सधैं पछि पर्छ तर आफूभित्र भएको त्यही ऊर्जा परिचालन गर्दैन। मानिसको परिचय मुस्कानमा हुन्छ। हरतरह मुस्कुराउन सक्नु ज्यादै चुनौती हो। त्यही ऊर्जाबाट हरक्षण मुस्कुराउन सम्भव छ। ऊर्जाले नै भौतिक र कृत्रिम दुवैलाई जोड्छ। जमिनसँग आकाशलाई यसैले जोड्छ। मानिसले आफ्नो जीवनको ज्योति ब्रह्माण्डीय ऊर्जामार्फत जलाउन र निरन्तर बालिरहन सक्छ।

योग र ध्यानबाट प्राप्त हुने ऊर्जाले मानिसलाई मानिससँग मात्र होइन, हरेक जीव र चराचर जगत्का अनेक आयामसँग योग गराउँछ। सूचना प्रविधिको यो अत्याधुनिक समयमा विज्ञानमाथि विजय हासिल गरेको मान्छे कोरोनाजस्तो सूक्ष्म जीवाणुका कारण ढोका थुनेर संसारबाट अलग्गिन बाध्य छ। त्यसैले योलगायत विविध जटिल परिस्थितिका लागि योग्य बनाउने योग र ध्यानलाई बेलैमा चिनेर अपनाउनुको विकल्प छैन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार