महाअभियोग बोकेर बिदा हुँदै ट्रम्प

वासिंगटन।

राष्ट्रपति ट्रम्पमाथि अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले दोस्रो पटक महाअभियोग प्रस्ताव पारित गरेको छ । यसरी अमेरिकी इतिहासमै दुईपटकसम्म महाअभियोग लाग्ने पहिलो राष्ट्रपति पनि डोनल्ड ट्रम्प बनेका छन् ।

अमेरिकी संसद् भवनमा राष्ट्रपति ट्रम्पका समर्थकहरूले आक्रमण गरेपछि उनीविरुद्ध अमेरिकाका डेमोक्र्याट सांसदहरूले महाअभियोग प्रस्ताव प्रस्तुत गरेका थिए । महाअभियोगको सार्वजनिक मत परिणामअनुसार महाअभियोग प्रस्तावको पक्षमा दुई सय ३२ मत परेको छ । महाअभियोग लगाउन दुई सय १७ मत आवश्यक थियो । यहाँको हाउस अफ रिप्रेजेन्टेटिभ्समा डेमोक्र्याट पार्टीका दुई सय २२ जना सदस्य रहेका छन् । त्यो भन्दा पनि बढी राष्ट्रपति ट्रम्पको रिपब्लिकन दलका पनि १० जना सांसदले महाअभियोगको पक्षमा मतदान गरेका थिए ।

महाअभियोगको प्रस्तावको विपक्षमा भने एक सय ९७ जना रिपब्लिकन सांसदले मत दिएका थिए । अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्सले सन् २०२० मै पनि उनका विरुद्धमा महाअभियोगको प्रस्ताव पारित गरेको थियो । तर त्यस समयमा भने उनको दल रिपब्लिकनका तर्फबाट एकजना पनि सांसदले महाअभियोगको पक्षमा मत दिएका थिएनन् ।

यस पटकको दृश्य उनका विरुद्धमा फेरिएको देखियो । सायद जसरी यहाँको डेमाक्र्याट पार्टी होस् या विश्वका देशहरुले पनि अमेरिका जस्तो देशमा पनि यसरी राष्ट्रपतिकै उक्साहटमा संसदमै हमला गर्ने काम जसरी भयो त्यसले राष्ट्रपति ट्रम्पकै दल रिपब्लिकनका सदस्यहरुलाई पनि अप्ठेरो लागेको हुनुपर्छ ।

अमेरिकी संसद्को तल्लो सदनले पारित गरेको सो महाअभियोग प्रस्ताव अब यहाँको माथिल्लो सदन अर्थात् सिनेटबाट पनि पारित हुनुपर्नेछ । उक्त प्रस्ताव पारित हुन सिनेटको मतको दुई तिहाइ आवश्यक हुन्छ । यस प्रयोजनका लागि सिनेटमा कम्तीमा पनि १७ जना रिपब्लिकन सिनेटर ट्रम्पको विपक्षमा अर्थात् महाअभियोगको पक्षमा उभिनुपर्नेछ । तर, यो सम्भावना भने निकै कम देखिन्छ । अब उनको बहिर्गमन दुई दिनमात्र बाँकी रहेकाले सिनेटले पनि यस विषयमा अब मतदान नगर्ला ।

राष्ट्रपति ट्रम्प सबै अमेरिकी नागरिकको सद्भाव र माया भन्दा पनि आफ्नो कार्यकाल सकेर निवास फर्किँदा अभियोग बोकेरै फर्किने भएको देखिएको छ। त्यसो त उनीमाथि सदैव आउने नागरिक सर्वाेच्चताको प्रश्न आउने नै छ । लोकतान्त्रिक मूल्य मान्यता र प्रजातान्त्रिक संस्कार अमेरिकीले कसरी ग्रहण गर्छन् र तेस्रो विश्वलाई सिकाउँछन् भन्ने प्रश्न पनि अब अमेरिकीहरुले संसारका विभिन्न भूगोगमा पुगेर सामना गर्नुपर्ने पनि हुनसक्छ ।

यी सबै प्रश्नहरु कति आफूसँग, कतिपय अमेरिकी जनताको मन मष्तिष्कमा र केही ह्वाइट हाउसमै थाँती राखेर फर्किदैछन् राष्ट्रपति ट्रम्प ।

अनि ‘ओभल अफिस’को घर्रामा बाराक ओबामाले हातैले लेखेको अनुभव मिश्रित चिठीमा जस्तो नागरिक सर्वाेच्चताको सम्मानको भाषा भने सायद उनको अनुभव पत्रमा नपर्न सक्छ । फेसबुक ट्वीटरलगायतका सामाजिक सञ्जालहरुले उनका अभिव्यक्तिलाई असामाजिक भनेर प्रतिबन्धित गरिसकेका छन् । जसका कारण लगभग घन्टाघन्टामा अपडेट गर्ने गरिएको उनको ट्वीटर अकाउन्टमा आफू ह्वाइट हाउसबाट निस्किन लागेको तस्वीर पोष्ट गर्ने स्थान पनि अहिलेलाई उनले सुरक्षित राख्न सकेनन्।

यसैले अमेरिकी इतिहासमै यो एउटा नयाँ प्रकारको सत्ता ‘शक्ति’ हस्तान्तरणको उदाहरणका रुपमा रहनेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार