परराष्ट्रमन्त्री ज्ञवाली पुगे नयाँदिल्ली !

निराजन पौडेल, काठमाडौं ।

नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन बिहीबार भारत पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहाँस्थित प्रवासी नेपाली संगठनका प्रतिनिधिलाई भेट्ने कार्यक्रम रहेको छ । शुक्रबार भने परराष्ट्रमन्त्री ज्ञवाली दिनभर व्यस्त हुने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणको विषयमा औपचारिक सूचना जारी गर्न ढिलाइ गर्दा केही समय अन्योल भए पनि भारत भ्रमणको एक घण्टाअघि मात्रै भारतीय विदेश मन्त्रालयले सूचना जारी गरेको थियो । नेपालले भने तीन दिनअघि नै परराष्ट्रमन्त्रीको भ्रमणको कार्यतालिका सार्वजनिक गरिसकेको थियो । भ्रमणको केही दिनअघि नै एकैसाथ दुई देशले विज्ञप्ति निकालेर सूचना जारी गर्ने गरेको भए पनि यसपटक भने भारतले अन्तिम समयमा मात्रै विज्ञप्ति निकालेको थियो ।

भारतीय विदेश मन्त्रालयको विज्ञप्तिअनुसार बिहीबार कुनै औपचारिक कार्यक्रम छैन । २ माघ (शुक्रबार) बिहान ज्ञवालीले ११ बजे आफ्ना समकक्षी एस जयशंकरसँग हैदराबाद हाउसमा भेट्ने कार्यतालिका छ । भेटसँगै दुई देशका विदेशमन्त्रीसहितको संयुक्त आयोगको बैठक बस्ने कार्यक्रम रहेको छ ।

बिहान साढे ११ बजे नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठक सुरु हुनेछ । बैठकमा दुई दर्जनभन्दा बढी द्विपक्षीय संयन्त्रमा हालसम्म भएका छलफल र सहमतिको समीक्षा हुनेछ । बैठकमा नेपालले सीमा, ईपीजी, व्यापार, ऊर्जा, कनेक्टिभिटीलगायतका विषयलाई प्राथमिकता दिने बताइएको छ ।

– भारत सीमा विवादको विषयलाई पन्छाउने तयारीमा
– ईपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री मोदीसँग आग्रह गरिने

नेपालले सीमा विवादको समस्या सुल्झाउने विषयमा छलफल गर्ने तयारी गरेको छ । तर भारतले भने हाल सीमा विवादको समस्याभन्दा पनि अन्य विषयमा केन्द्रित रहेर छलफल गर्ने बताइएको छ । भारतले अहिले कोभिड–१९ विरुद्धको खोप नेपाललाई सहयोग दिने विषयलाई मुख्य एजेन्डा बनाएर बैठकमा छलफल केन्द्रित हुनेछ ।

यसअघि सन् २०१६ मा नेपाल–भारत सरकारद्वारा गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले अढाई वर्षअघि तयार पारेको प्रतिवेदन अलपत्र परेको छ । सो विषयमा नेपाल बैठकमा छलफल गर्ने तयारीमा छ । ईपीजीको पहिलो बैठकले सन् १९५० को नेपाल–भारत सन्धि परिमार्जन रहेको थियो । यो विषयले लामो समयसम्म चर्चा भए पनि पुनरावलोकनको विषय अन्योल बनेको छ । ईपीजी प्रतिवेदन बुझ्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेसम्म समय दिएका छैनन् ।

नेपाल र भारतको संयुक्त आयोगको बैठक आलोपालो बस्ने गरेको छ । यसअघि सन् २०१६ मा संयुक्त आयोगको बैठक भारतमा बसेको थियो । त्यसपछि सन् २०१८ को मेमा काठमाडौंमा संयुक्त आयोगको बैठक बसेको थियो । जतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने तयारीमा थिए ।

त्यसपछि हुने भनिएको बैठक हुनुअघि नै लिम्पियाधुरा, लिपुलेक र कालापानी भूमि भारतीय नक्सामा समेटिएको भन्दै नेपालले नक्सा सच्चाउन भारतलाई अनुरोध ग¥यो । सो प्रकरणपछि नेपालले नयाँ राजनीतिक नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्धमा चिसोपना आएको थियो । दुई देशबीच संवादहीनताको अवस्था भएपछि संयुक्त आयोगको बैठक बस्न सकेको थिएन ।

भारतीय विदेश मन्त्रालयले ज्ञवाली दिल्लीमा रहँदा हुने उच्च राजनीतिक भेटघाटबारे भने केही खुलाएको छैन । तर नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने तयारी रहेको छ । भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल हुन सक्नेछ । तेस्रो दिन मन्त्री ज्ञवाली शनिबार अपराह्न २ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार