बालुवाटारमा स्वागत पाउने चौधरीको सगरमाथाबारे ‘रिपोर्ट’ के थियो ?

काठमाडौं ।

भारतीय संस्थापनको संरक्षणमा नेपाली राष्ट्रियतालाई लामो समयदेखि प्रहार गर्दै आएको त्यहाँको न्युज च्यानल जी न्युजको टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्वार्ताका लागि बालुवाटारमै बोलाएको विषयमा चौतर्फी आलोचना बढ्न थालेको छ ।

भारतको नोयडास्थित स्टुडियोबाट नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरामा दाबी गर्ने र सगरमाथामा समेत हस्तक्षेप आवश्यक रहेको जस्ता भ्रामक समाचार प्रस्तुत गर्ने जी न्युज र त्यसका प्रधान सम्पादक सुधीर चौधरीलाई प्रधानमन्त्री ओलीले गरेको स्वागतलाई लिएर आलोचना बढेको हो ।

जी न्युजको टोलीलाई बालुवाटारमै बोलाएर प्रधानमन्त्रीद्वारा अन्तर्वार्ता मात्रै दिइएको छैन, आफ्ना समाचारमा भारतले हस्तक्षेप गर्नुपर्ने प्रस्तुति पस्केको नेपालको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमै पुग्नेसमेत अवसर प्रदान गरिएको छ ।

स्रोतका अनुसार गत ५ कात्तिकमा भारतीय गुप्तचर संस्था ‘र’ का प्रमुख सामन्तकुमार गोयल नेपाल आउँदा सहजकर्ताको भूमिका खेल्ने समूहले नै जी न्युजको टोलीलाई बालुवाटारदेखि सगरमाथा क्षेत्रसम्मको भ्रमण गराएको खुलेको छ । जी न्युजका प्रधान सम्पादक चौधरीले सगरमाथामाथि भारतले हस्तक्षेप गर्नुपर्ने दाबी सगरमाथालाई नै पृष्ठभूमिमा राखि कालापत्थरमै पुगेर गरेका थिए ।

यो पटक पनि चौधरी र उनलाई प्रधानमन्त्रीसँग अन्तर्वार्ताका लागि सहजिकरण गरिरहेको समूह प्रधानमन्त्रीसँग अन्तर्वार्ता लिने मात्र नभई सगरमाथामाथि भारतले दाबासमेत गर्नुपर्छ भन्ने प्रचार गर्ने उद्देश्यले नेपाल आएको हुनसक्ने आशंका गर्न थालिएको छ । स्मरणीय रहोस्, चौधरी गत २७ मंसिरमा सगरमाथाको नाम ‘माउन्ट एभरेस्ट’ नभई माउन्ट राधानाथ सिकदर राख्नुपर्छ भनेर विशेष रिपोर्ट प्रसारण गर्ने भारतीय पत्रकार हुन् ।

चोधरीको रिपोर्टमा के थियो ?

सगरमाथामाथि भारतले दाबा गर्नुपर्छ भन्ने सुधीर चौधरीको व्यक्तिगत वा मनगढन्ते दाबी थियो ? कि त्यो योजनाबद्ध वा सुनियोजित थियो ? यसमा गुप्त रुपमा कुन पक्ष लागिरहेको छ ? र उसको खास स्वार्थ के हो ? यो त बिस्तारै खुल्दै जाला । तर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो देशको स्वाभिमान र राष्ट्रियतामा निरन्तर प्रहार गर्ने पत्रकार र उनी आबद्ध टेलिभिजन च्यानललाई किन यस्तो स्वागत गर्नुभयाे ? यो भने किनै संवेदनशील प्रश्न बनेको छ ।

चौधरीले जी न्युजबाट प्रसारण गरेको रिपोर्टमा सगरमाथाको उचाइ पत्ता लगाउने व्यक्ति जर्ज एभरेस्ट नभएर राधानाथ सिकदर भएका कारण उनकै नामबाट सगरमाथाको नामकरण गर्नुपर्ने उल्लेख गरेका थिए । एक अनलाइनमा प्रकाशित भिडियोसमेतको अर्को रिपोर्टमा उनैले भनेका छन्, ‘सगरमाथाको नाम माउन्ट एभरेस्ट नभएर माउन्ट राधानाथ सिकदर राख्नुपर्छ ।’

चौधरीले प्रसारण गरेको रिपोर्टमा सगरमाथाको उचाइ जर्ज एभरेष्टले नभई राधानाथ सिकदरले पत्ता लगाएको र सोही कारण यो शिखरमा भारतले दाबी गर्नुपर्छ भनेर उल्लेख गरिएकाे छ । वास्तवमा नेपालको राष्ट्रियतामाथि यो भन्दा गम्भीर प्रहार अरु केही हुन सक्दैन ।

सगरमाथाको उचाइ मापन गर्ने अधिकारी भारतीय भएकै कारण यो शिखरमा भारतले दाबी गर्नुपर्छ भन्ने उनको रिपोर्टको निश्कर्ष छ । तर मुलुकको राष्ट्रियतामाथि यस्तो प्रमाण र प्रसंगबिहिन विषय उठाउने विदेशी पत्रकारलाई नेपालका प्रधानमन्त्रीले सरकारी निवासमा स्वागत गर्नुको पछाडि कस्तो बाध्यता आइपर्यो ? गम्भीर प्रश्न उब्जिएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार