भीम चाैधरी, कैलाली ।
चिसापानी बजारबाट करिब डेढ किलोमिटर उत्तर कर्णाली नदीको तिरैतिरको यात्रापछि मोहन्याल गाउँपालिका–७ पितमारीमा पुगिन्छ । तराईको धुपबाट त्यहाँ पुग्दा शीतलताले दिने आनन्द निकै लोभलाग्दो हुन्छ । त्यति मात्र होइन, अचेल यहाँ पर्यटकले जिपलाइनको मज्जा लिन पाएका छन् ।
कर्णाली तटमा सञ्चालनमा ल्याइएको जिपलाइन सबै उमेर समूहका पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
करिब १० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भई २०७६ माघमा सञ्चालनमा ल्याइएको जिप लाइनमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक खेल्न र हेर्न त्यहाँ पुग्ने गरेका छन् ।
नेपालगन्जबाट सपरिवार चिसापानी घुम्न आएका अधिवक्ता राजिवकिशोर अग्रवाल जिपलाइनमा खेल्न पुगेका थिए । चिसापानीमा धेरै पटक आएको भएपनि पहिलो पटक जिपलाइनको मजा लिने अवसर पाएको अग्रवालको भनाइ छ ।
धनगढीबाट जिपलाइन खेल्न पितमारी पुगेका सन्तोष बलायरले जिपलाइनले चिसापानी क्षेत्र घुम्न आउने पर्यटकलाई थप मनोरञ्जन दिएको बताए ।
भारतको दिल्लीमा अध्ययनरत सुकृति अग्रवालको घर नेपागञ्ज हो । कोरोना कहरका कारण घर आएकी उनी यही मौका छोपेर कर्णाली घुम्न पुगिन् । तर, यहाँ पुगेपछि उनी छक्क परिन् । जीपलाइन होला भनेर कल्पना पनि गरेको थिएन सुकृतिले भनिन्–‘जीपलाइन देखेपछि नखेली रहन सकेन ।’ यहाँ त रमाईलोका लागि धेरै कुरा रहेछ उनले भनिन्–‘साहसिक खेल खेल्न पाएकोमा ज्यादै खुशी छु ।’
कैलालीको लम्कीका तपेन्द्र रावलले चिसापानी क्षेत्रमा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै साहसिक खेलको मनोरञ्जन दिने उद्देश्यले जिप लाइन सेवा सञ्चालनमा ल्याएका हुन् । ‘जिप लाइन एक साहसिक मनोरञ्जनको माध्यम हो’, रावलले भने, ‘जसमा एक ठाउँबाट अर्को ठाउँसम्म तारमा घिर्नीको सहायताले झुन्डिएर पुग्नुपर्ने हुन्छ ।’
करिब एक सय ३० मिटर लामो जिपलाइन अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालनमा ल्याएको उनले बताए । उनले भने, ‘यसका लागि हामीले पूर्ण सुरक्षाको व्यवस्था गरेका छौं ।’
जिपलाइन खेले बापत एक पटकका लागि दुई सय रुपैयाँ शुल्क तिर्नुपर्छ । त्यहाँ अचेल जिपलाइनको मज्जा लिन दैनिक एक सय बढी आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।