गोरखा ।
जिल्लामा बुबाको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । सिरानचोक गाउँपालिका–८ धन्सारका ४० वर्षीय भुवन ढकाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
सिरानचोक–८ धापेस्थित खेतमा धान झाट्ने क्रममा झगडा हुँदा भुवनले ७० वर्षीय बुवा तुलारामलाई लाठीले हानी गम्भीर घाइते बनाएका थिए । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गम्भीर घाइते तुलारामको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।