कलङ्कीमा ट्रक दुर्घटना: ३ जनाको मृत्यु, २ घाइते

काठमाडौँ।

काठमाडौँको कलङ्कीमा आज बिहान रोकिराखेको ट्रकमा अर्को ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ। अरु दुई जना घाइते भएका छन्।

बिहान करिब ३ः२५ बजे रोकिराखेको बा३ख ७५३० नम्बरको रोकिराखेको ट्रकलाई बल्खुबाट सीतापाइला जाँदै गरेको कुखुरा बोक्ने बा५ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिएको थियो। उक्त दुर्घटनामा परी कुखुरा बोक्ने ट्रकमा सवार नुवाकोटका २४ वर्षीय रोशन तामाङ, २७ वर्षीय भूपेन्द्र तामाङ र ३७ वर्षीय माधव घिमिरेको मृत्यु भएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार दुर्घटनापछि गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि शहीद मेमोरियल अस्पताल कलङ्की लगिएको थियो। तर, चिकित्सकले करीब ४ः३० बजे उनीहरुलाई मृत घोषणा गरेका थिए।

उनका अनुसार नुवाकोटकै २१ वर्षका रोहन तामाङ र २४ वर्षका विजय तामाङ घाइते भएका छन्। उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ।

ट्रक सहचालकले चलाएको जानकारीमा आएकाले घटनाको थप अनुसन्धान भइरहेको प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार