कोरोना संक्रमितको निःशुल्क उपचार गराउनु पर्ने जिम्मेवारीबाट सरकार पन्छियो : नेपाली कांग्रेस

काठमाडौं।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड-१९ संक्रमितको निःशुल्क उपचार गराउनु पर्ने जिम्मेवारीबाट सरकार पन्छिएको आरोप लगाएको छ ।

विहीबार (आज) नेपाली कांग्रेसको कोभिड-१९ अनुगमन समितिले प्रेस विज्ञप्ती जारी गर्दै संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेश विपरित तथा नागरिक समाजबाट भएको निरन्तर विरोधका वावजुद पनि सरकारले संक्रमितहरुको निःशुल्क उपचार गराउनु पर्ने जिम्मेवारीबाट पन्छिएको आरोप लगाएको हो ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘सरकारी अस्पतालहरुले समेत उपचार पहिले नै निश्चित धरौटी रकम दाखिला गर्नुपर्ने सूचना जारी गर्दैछन् । यसले गर्दा खर्च जुटाउन नसकेर कतिपय विरामीहरु अस्पतालमा उपचार गराउँदा गराउँदै फिर्ता हुदैछन् भने कतिपय संक्रमणले गम्भीर हुँदा समेत घरमै बस्नुपर्ने बाध्यता भएको छ ।’

थप भनिएको छ, ‘सत्ताधारी दलका नेता र उनका नाममा दर्ता भएका गैर सरकारी संघ-संस्थाहरुलाई अरबौं रकम दिन सक्ने, विभिन्न शीर्षकमा फजुल खर्च गर्न समस्या नहुने, कोभिड-१९ संक्रमण रोक्ने नाममा ठूलो मात्रामा दुरुपयोग र भ्रष्टाचार गर्न सरकारसँग पर्याप्त बजेट हुने तर आम नागरिकहरुले परीक्षण र उपचार खर्च नभएर मृत्युवरण गर्नुपर्ने र वेरोजगारीका कारण चाडवाडको बेलामा पनि भोकभोकै बस्नु पर्ने स्थितिमा बजेटको अभाव देखाउँदै सरकार केही गर्न नसक्ने भनेर जिम्मेवारीबाट पन्छिदैछ ।’

त्यस्तै, नेपाली कांग्रेसले सरकारको यस्तो जनविरोधी क्रियाकलापको घोर निन्दा गर्दै कोरोना परीक्षण र उपचारमा सरकारले तत्काल पूर्ण जिम्मेवारी लिन माग गरेको छ । कोभिड-१९ संक्रमणले सिर्जना गरेको परिस्थितिका कारण दैनिकी चलाउन कठिनाई भोगिरहेका आम नागरिकहरुका लागि राहतको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।

यसका साथै, कोभिड-१९ रोकथाममा सरकारले देखाएको उदासीनताका कारण बढ्दो संक्रमणलाई कम गर्न आम नागरिकहरुको तहबाट पनि जिम्मेवारी लिन आवश्यक रहेको जनाएको छ । मास्क लगाउने, भौतिक दूरी कायम राख्ने र सावुन पानीले नियमित हाँत धुने उपायहरुलाई गम्भीरताका साथ लिन पनि आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार