” आफूलाई अजेय नठानौं, कोरोना रुघा होइन, हत्यारा हो ” : क्याप्टेन विजय लामा ( भिडियो सहित् )

– क्याप्टेन विजय लामा

म नेपाल एअरलाइन्सको क्याप्टेन हुँ। हालसालै केही यात्राका दौरान ककपिटमा रहँदा मलाई असामान्य रुपमा थकाइ लाग्न थालेको थियो।

दुई हप्ता अगाडि रियादबाट नेपाली नागरिक स्वदेश ल्याउने उडान भरेपछि मलाई दक्षिण सुडानमा शान्तिसेनामा रहेका नेपाली सेनालाई फिर्ता ल्याउने जिम्मेवारी दिइएको थियो।

जुबा पुग्न २४ घन्टा लाग्ने समयमा म ककपिटमा जम्मा आधा समय थिएँ। तर काठमाडौँ आउने बेलामा मेरो छालामा सियोहरूले घोचेको जस्तो महसुस हुन थाल्यो। मेरो टाउको दुख्न थाल्यो र लगत्तै ज्वरो पनि देखा पर्‍यो। 

विस्तारै मैले खानाको बास्ना र स्वाद चाल पाउन छोडेँ र यस्तोबेला मलाई चिटचिट पसिना आउँथ्यो। म सोल्टी होटलमा क्वारेन्टिनमा बसेँ र पीसीआर परीक्षण गरेँ। केही लक्षण देखिरहेको र कोरोना संक्रमण पनि पोजिटिभ देखिएपछि मलाई स्टार हस्पिटलमा भर्ना गरियो। 

मेरो अवस्था झन्झन् खराब हुन थाल्यो। ज्वरो १०२ बाट झर्ने सुरसार थिएन, टाउको र जोर्नीहरूको दुखाई पनि सहन नसकिने किसिमको थियो। म घरी उत्तानो पर्थेँ, घरी कोल्टे फेर्थेँ।, फिटिक्कै निद्रा लाग्दैनथ्यो, कहिलेकाहीँ त पागल जस्तै हुन्थेँ। मास्क, भाइजर र पीपीई लगाएका नर्स र डाक्टरहरू सानो स्वरमा मैले राम्ररी नसुन्ने गरी प्रश्नहरू सोध्थे। तर म उनीहरूको अनुहार देख्न सक्दिनथेँ।  मेरो धमिलो दृष्टिमा उनीहरू हिँड्ने मेसिन जस्ता देखिन्थे।

मलाई थाहा छ कि म अहिले जीवित छु र त म यी शब्दहरू बोल्न सकिरहेको छु। र, यो सब यी समर्पित स्वास्थ्यकर्मीको कारणले सम्भव भएको हो । महामारीको समयमा विदेशमा अलपत्र रहेका नेपालीको उद्धार गर्न नियमित उडान भर्ने चालक दलमा भएकाले हामी आफूलाई अग्रमोर्चामा काम गर्ने जनशक्ति भन्ठान्थ्यौं। तर अग्रमोर्चाका वास्तविक नायकहरू त हाम्रा अस्पतालहरूमा काम गर्ने स्वास्थ्यकर्मीहरू हुन्, जो आफ्नो ज्यानको जोखिम मोलेर अरूको जीवन बचाउने लडाइँमा होमिनुभएको छ।    

यो भाइरसको कालकोठरीबाट निस्किएपछि, म यो भाइरसलाई गम्भीरतापूर्वक लिनुहुन सबैसँग अपिल गर्न चाहन्छु। नेपालमा रहेको सर्वोत्कृष्ट सेवा, औषधिमा पहुँच, बलियो शारीरिक र मानसिक अवस्थामा रहेकोले र उपचारको खर्च जुटाउन सक्ने भएकोले मात्र म बाँचेको हुँ।     
पीपीई लगाएर उनीहरू १२ घन्टाको ड्युटिमा खटिन्छन्, शौचालय जान पनि सक्दैनन्। घरमा परिवार भेट्न जान सक्दैनन्, र यदि उनीहरू फ्ल्याट भाडामा लिएर बसेका छन् भने घरबेटी र छिमेकीहरूको भनाई र हेपाई खानुपर्छ। धेरैलाई कम तलब दिइएको छ र धेरै काममा खटाइएको छ। इन्स्योरेन्स छैन, हस्पिटल धानिन गाह्रो हुँदै गर्दा कतिको त तलब पनि काटिएको छ। म उनीहरूको समर्पणलाई सलाम गर्दछु।  

यो भाइरसको कालकोठरीबाट निस्किएपछि, म यो भाइरसलाई गम्भीरतापूर्वक लिनुहुन सबैसँग अपिल गर्न चाहन्छु। नेपालमा रहेको सर्वोत्कृष्ट सेवा, औषधिमा पहुँच, बलियो शारीरिक र मानसिक अवस्थामा रहेकोले र उपचारको खर्च जुटाउन सक्ने भएकोले मात्र म बाँचेको हुँ।     

हामी धेरैजसो यति भाग्यमानी नहुन सक्छौँ। जसको मतलब हामीले अझ बढी ध्यान पुर्‍याउनुपर्दछ – विशेषगरी यदि हामीलाई पहिला नै कुनै रोग लागेको छ भने, ज्येष्ठ नागरिक हौँ भने वा घरमा बुढापाका आफन्त छन् भने। रुघाखोकी लाग्ने जाडो मौसम नजिकिँदै गर्दा र बन्दाबन्दी थप लचिलो बन्दै गर्दा हामीले अझै बढी सावधानी अपनाउनुपर्छ। जस्तो कि, विमान यात्रीका लागि पीसीआर परीक्षणको नियम हामीले कडाईका साथ पालना गर्नुपर्छ। 

तपाई युवा हुनुहुन्छ, घर बस्दाबस्दा दिक्क भइसक्नुभयो वा आफ्नो साथीहरूको याद आउँछ भन्दैमा सचेतना र सुरक्षामा सम्झौता गर्नु हुन्न। यदि तपाई बिरामी हुनुभयो भने आफ्नो स्वास्थ्य मात्र जोखिममा पारिराख्नुभएको हुन्न। यो हावाबाट सर्ने रोग तपाईलाई कहाँबाट सर्छ पत्तो हुँदैन। घर बाहिर जाँदा सधैँ मास्क लगाउने, भीडभाडमा नजाने, सुरक्षित दूरी कायम गर्ने र नियमित हात धुने गर्नु जरुरी हुन्छ।        

अर्को वर्ष खोप पत्ता लागे पनि, यो शतप्रतिशत ग्यारेन्टी होइन। यी सुरक्षाका उपाय तपाईले अवलम्बन गरिरहनुपर्छ। 

कोभिड-१९ को सबैभन्दा दुःखलाग्दो पाटो भनेको आफू भर्ना भएको अस्पतालमा आफू एक्लै हुनु हो। तपाई आफ्नो परिवारलाई भेट्न पाउनुहुन्न। स्वास्थ्यकर्मीको अनुहार देखिदैन, र यसले तपाईको मनोबललाई असर गर्न सक्छ। तसर्थ तपाईले सकारात्मक मानसिक दृष्टिकोण कायम राख्नुपर्छ, यो भाइरसलाई जित्छु भन्ने विश्वास आफूलाई दिलाउनुपर्दछ।  

आफ्नो मस्तिष्कलाई एकदमै क्रियाशील राख्नुपर्दछ। धेरै चिन्ता नलिने र भविष्यका लागि योजना बनाउनुपर्दछ। तपाईले भाइरसलाई जित्न दिनुहुँदैन, आफूलाई मानसिक रुपमा सतर्क राख्नु पनि शारीरिक बल कायम राखेजत्तिकै महत्वपूर्ण हो। आखिर तपाईको प्रतिरक्षा प्रणालीलाई बढाउने भनेको दिमागले नै हो।    

चालक दलको सबै तालिम, इच्छाशक्ति र स्वस्थ शारीरिक स्थिति भए पनि हस्पिटलको उपचारविना म बाँच्थे जस्तो लाग्दैन। रेम्डेसेभिरले र अरू पनि औषधिले मेरो शरीरको लड्ने क्षमतालाई बृद्धि गर्‍याे ।

काेभिड १९ लाई हल्का रुपमा नलिउँ। आफू अजेय छु भनेर नठान्नू। यो रुघा होइन। यो त हत्यारा हो, र यसले तपाईलाई अध्यारो गहिराइमा लैजान्छ र पुन: प्रकाशमा फर्कन लड्दै माथि उक्लिनुपर्ने हुन्छ। 

मेरो सुझाव के छ भने बेसार या अरू चलनचल्तीको उपचार पद्धतिमा भर नपरौँ, यी निको पार्ने विधि होइनन्। म अहिले मेरो अन्तिम पीसीआर परीक्षणको नतिजा कुरिरहेको छु, र यदि नेगेटिभ आयो भने मलाई घर जान पाउने विश्वास छ। आफ्नो शक्ति पुन: प्राप्त गरेपछि चाँडै ककपिटमा फर्कनेछु। 

सार्स-कोभिड-२ शक्तिशाली प्रतिद्वन्दी हो, यसलाई हल्का रुपमा नलिउँ। आफू अजेय छु भनेर नठान्नू। यो रुघा होइन। यो त हत्यारा हो, र यसले तपाईलाई अध्यारो गहिराइमा लैजान्छ र पुन: प्रकाशमा फर्कन लड्दै माथि उक्लिनुपर्ने हुन्छ। 

( विजय लामा नेपाल एअरलाइन्सको एअरबस ३३० का वरिष्ठ क्याप्टेन हुन्, र उनले यी कुराहरू बुधबार बिहान आफ्नो अस्पतालको शय्याबाट बताएका हुन्। )

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार