बैतडी ।
सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आइतवारदेखि शुरू भएको छ । पौराणिक कालमा भगवान् महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्ती गरेको विश्वास गरिन्छ । सोही समयदेखि गौरा र महेश्वरको विवाहको सम्झनाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको पण्डित रमेशचन्द्र कलौनीले बताए ।
गौरा पर्वको पहिलो दिन आइतवार घर–घरमा महिलाले तामाका भाडामा ५ प्रकारका अन्न भिजाएर पर्वको थालनी गर्दछन् । यसरी तामाको भाडामा भिजाएको ५ प्रकारको अन्नलाई बिरुडा भनिन्छ । ब्रतालु महिलाले शिव पार्वतीको गाथामा आधारित फागहरू गाएर सामुहिक रूपमा बिरुडा भिजाउने चलन रही आएको दसरथचन्द नगरपालिका–४ की राधिका ठगुन्नाले बताइन् । भिजाएको बिरुडालाई नजिकको जलासायमा लगेर धुने गरिन्छ ।
भाद्र शुक्ल वा कृष्ण पञ्चमीका दिनबाट यो पर्व शुरू हुने गर्दछ । छठमीका दिन पञ्चमीका दिन भिजाएका बिरुडालाई धुने गरिन्छ । सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । गौराको मुख्य दिन अष्टमीका दिन अर्थात अठ्यावालीका दिन गौराखलामा लगेर पूजा गर्ने गरिन्छ । यसै दिन विवाहित र नवविवाहित महिलाले गलामा दुधागो लगाउने चलन पनि छ ।
अठ्यावाली गौरा पर्वको मुख्य दिन हो । अठ्यावालीका साँझ बिरुडालाई पकाएर खाने गरिन्छ । भिजाएको बिरुडा खाएमा स्वास्थ्यका लागि पनि फाईदाजनक हुने स्वास्थ्यकर्मीको भनाइ छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विशेष गरेर मनाउने चलन रहेको भए पनि पछिल्लो समय यो पर्व विस्तारित हुँदै गएको छ ।