एकता जोगाउने नाममा पार्टीभित्रको गलत प्रवृतिको ढाकछोप गर्न सकिन्नः प्रचण्ड

– काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने बताएका छन्।

कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवसरमा आयोजिक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले गलत विचार र प्रवृतिहरुको ढाकछोप नगरी फर्छ्याैट गर्नुपर्ने बताए।

कुनै पनि बाहानामा पार्टी विभाजन हुनु हुँदैन भन्ने जनताको चाहना नेतृत्वले बुझेको उल्लेख गर्दै दाहालले भने, ‘आम जनता र कार्यकर्ताको चाहना पार्टी विभाजित नहोस् भन्ने छ, भन्ने कुरा नेतृत्वको हैसियतले हामीले राम्रो सँग बुझेका छौँ। तर एकता अक्षुण राख्ने नाममा विभिन्न विचार, प्रवृति र इस्युहरुको बहस ढाकछोप र छोपछाप हुने हुनु हुँदैन। तिनको फर्छ्याैट ठिक ढंगले गरिनुपर्छ भन्ने कुरामा पनि सचेत छौँ। पुराना नेताहरुप्रति श्रद्धासुमन र सम्मान प्रकट गर्दा लिनुपर्ने शिक्षा यही हो।’

अध्यक्ष दाहालले समाचारहरुमा आएजस्तो पद प्राप्तिका लागि पार्टीभित्र कुनै विवाद नरहेको उल्लेख गर्दै विधि र पद्धतिको पालना कसरी गराउने भन्ने विषयमा छलफल केन्द्रित रहेको बताए।

उनले भने, ‘पटक–पटक पद दिएर कम्युनिष्ट आन्दोलन एकतावद्ध हुन नदिने कसरतहरुसँग लडेर हामी आएको हो। अस्थिरता झल्किने कुनै पनि काम नहोस् भन्नका लागि आफ्नोतर्फबाट सेक्रिफाइस गरिएका छन्। त्यसैले पद प्राप्तिका लागि छिनाझम्टी होइन। यो कम्युनिष्ट पार्टीको विचार र विधिको संयोजनबाट चल्ने पार्टी हो। विचारलाई कसरी स्पष्ट पार्ने, इस्युहरुमा कसरी अगाडी जाने र विधि पद्धतिको पालना कसरी गराउने भन्ने विषयमा नै केन्द्रित भएर हाम्रा छलफल चलिरहेका छन्।’

अध्यक्ष दाहालले अहिलेको बहसले पार्टीको एकतालाई अझ माथिल्लो स्तरमा लग्दै सुदृढ गर्ने बताए। पार्टी एकता टुटाउने फुटाउने प्रवृतिहरुलाई सबै मिलेर परास्त गर्नुपर्ने उनकाे भनाइ छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार