कोरोनाबाट विदेशमा थप १३ नेपालीको मृत्यु, मृतक संख्या १४३ पुग्यो

काठमाडौं ।

कोरोना भाइरस संक्रमणका कारण यो साता विदेशमा थप १३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ एनआरएनए अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना र कुवेत १ जना नेपालीको निधन भएको हो ।

योसँगै विदेशमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय ४३ पुगेको छ । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, ओमानलगायत १४ वटा देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डाक्टर सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको बढ्ने दर न्युन हँुदै गइरहेको तथ्यांकले देखाएको छ । समितिका अनुसार हालसम्म विदेशमा २८ हजार ९ सय भन्दाबढी नेपालीमा कोरोना संक्रमण देखिएको छ भने २५ हजार २ सय २६ जना गैरआवासीय नेपाली कोरोना मुक्त भएका छन् ।

एनआरएनएका अनुसार हालसम्म विश्वभर ३७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् । यसैबीच कोरोना भाइरसका कारणले विश्वव्यापी लकडाउन शुरु भएपछि विभिन्न देशमा रोकिएका नेपालीहरुको उद्दारको कामलाई तीव्रता दिइएको छ । एनआरएनए र विदेशस्थित नेपाली कुटनीति नियोगको संयुक्त पहलबाट जुनको पहिलो सातादेखि हालसम्म २१ देशका १८ हजार २ सय ९३ जनाको उद्दार गरिएको छ ।

अफगानिस्तान, अष्ट्रेलिया, ओमान, कतार, म्यानमार, कुवेत, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, बंगलादेश, मलेसिया, माल्दिभ्स, श्रीलंका, युएई, साृदी अरब, सिंगापुर, हङ्गकङ्ग, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायतका देशमा रहेका नेपालीहरु नेपाल फर्किका छन् ।

यसैबीच विदेशमा निधन भएका नेपालीको ३ सय ५२ शवमध्ये एक सय १५ जनाको शव नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ भने बाँकी एक सय ५ शवको व्यवस्थापनको काम बाँकी रहेको छ । ती शवमध्ये एक सय ३२ जना नेपालीहरुको शव परिवारको सहमतिमा विदेशमै अन्त्येष्टि गरिएको गैरआवासीय नेपाली संघ कोभिड १९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार