महामारी कायमै छ, पर्याप्त सतर्कता अपनाऔँ: डब्लूएचओ

काठमाडौं ।

विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले कोभिड-१९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोभिड–१९ को महामारी कायमै रहेकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अपिल गर्नुभएको हो । लकडाउन खुकुलो बनाएसँगै सर्वसाधरणको क्रियाकलाप बढ्दै गएको, कार्यालय सञ्चालन भएको तथा एक आपसमा भेटघाट लगायत बढेको भन्दै उहाँले त्यस क्रममा सबैले आआफ्नो तर्फबाट थप सतर्क हुनु जरुरी रहेको बताउनुभयो । उहाँले संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आआफ्नो तर्फबाट जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले मानिसको भीडभाडमा नजाने, जानै परे दुरी कायम गर्ने, मास्क लगाउने तथा बेला बेलामा साबुन पानीले हात धुन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘लकडाउन हामी सबैका लागि अप्ठ्यारो कुरा थियो । घर मै बस्नु पर्यो । साथी भाइलाई भेट्न पाईएन । काममा जान पाईएन । अहिले लकडाउन केही हदसम्म खुकुलो भएको छ र हामी वरपर जान पाएका छौं । काममा जान पाएका छौं । नातेदार परिवारहरुलाई भेट्न जान पाइरहेका छौं । तर हामीले याद गर्नुपर्ने कुरा के हो भने महामारी अझै पनि गइसकेको छैन । महामारी अझै पनि छ र हामी अझै पनि संक्रमित हुन सक्छौ तसर्थ हामी अलि होसियार हुनु जरुरी छ । हामीले आफैले केही कदमहरु चाल्नु जरुरी छ । ताकी यो संक्रमणलाई नियन्त्रण गर्न सकियोस् । हामीले चाल्न सक्ने कदमहरु भनेको एक अर्कासँग भौतिक दुरी कायम गर्ने, मास्क लगाउने । कपडा कै भए पनि हुन्छ । विशेष गरी धेरै मानिसहरु भएको अवस्थामा अनिवार्य रुपमा मास्क लगाउने ।’

भ्यान्डेलरले भन्नुभयाे, ‘साबुन पानीले बारम्बार हात हुने किनभने संक्रमित व्यक्तिलाई तपाईँले छुनु भएको छ भने त्यो हातमा सर्छ र तपाईँको हातले मुखलाई, नाकलाई छुदाँ त्यहाँबाट भाइरस तपाईँको शरीरमा प्रवेश गर्छ । त्यसैगरी खोक्दा मुख छोप्ने । साथै ज्वरो, खोकी वा कुनै पनि किसिमको बिसञ्चो भयो भने तुरुन्तै स्वास्थ्यकर्मीलाई देखाउने । यी कुराहरु तपाईँहरुले गर्नुभयो भने भाइरस थप फैलिन पाउदैन र भाइरस मर्छ । भाइरस नियन्त्रण गर्नका लागि लकडाउन एउटा उपाय थियो भने अबको अर्को उपाय भनेको हामीले यी नियमहरु पलना गर्नु नै हो ।’

नेपालमा काेराेनाभाइरसकाे संक्रमण बढ्दै गइरहेकाे अवस्थामा लकडाउन खुकुलाे गरिएपछि विश्व स्वास्थ्य संगठनले लगातार चासाे देखाइरहेकाे छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार