लिस्बन।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलकोभित्र मौलाएको गुण्डागर्दी र ज्यादती बिरुद्द अनलाईन हस्ताक्षर ( पेटिशन ) अभियान शुरु भएको छ। संघका पदाधिकारीहरुले बारम्बार सर्वसाधारणहरुलाई धम्काउने, मारपिट गर्ने गरेकाले सो पेटिशन गरिएको नागरिक समाजका युवाहरुले बताएका छन्।
संघकाका वरिष्ठ उपाध्यक्ष भीमसेन थापा लगायतले ७ जुन, २०२० , आइतबारका दिन मिलन रेग्मी र रोशन उप्रेतीमाथि साङ्घातिक आक्रमण गरेका थिए। आक्रमणबाट रेग्मीको कानको लोती च्यातिएर रगताम्मे भएका थिए । घाइते रेग्मीको च्यातिएको कानमा टाँका लगाईएको छ भने उप्रेतीको खुट्टा, घुँडा र कुहिनामा चोट लागेको थियो।
एनआरएनए पोर्तुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले पाँचौ पटक नेपाली कुटेका छन्। एनआरएनए पोर्तुगलका अध्यक्ष तिलक गैरेले मान्छे कुट्ने आफ्नै कार्यसमिति पदाधिकारीहरुलाई कारवाही गर्नुको सट्टा उल्टै बचाउने र घटनालाई भित्रभित्र सामसुम पार्ने र मिलापत्र गर्ने बारम्बार मारपिट गर्ने र संघको साख गिराउने काम गर्नेहरुलाई समेत बचाउने रणनीतिमा लागिपरेपछि नागरिक समाजका युवाहरु आक्रोशित भएका छन्।
नागरिक समाजका करिब २०० युवाहरु संघको कार्यालयमा भेला भई अध्यक्ष गैरे र मारपिटमा उपाध्यक्ष थापालाई छलफल गर्न बोलाएका थिए। तीन घन्टासम्म पनि कुर्दा पनि नआएपछि र बारम्बार फोन सम्पर्क गर्दा फोन रिसिभ नगरेपछि आक्रोशित भएका युवाहरुले मारपिटमा संलग्न थापा सहित संघका सबै पदाधिकारीहरुको संघमा रहने नैतिकता नभएकोले तत्काल बर्खास्त गर्नुपर्ने माग राखेका थिए। बर्खास्त नगरेसम्म अनिश्चित कालसम्मका लागि उनीहरुले संघको कार्यालयमा एक सूचना टाँस गर्दै लगाईदिएका छन्।
नागरिक समाजका युवाहरूले बरिष्ठ उपाध्यक्ष लगायत घटनामा संलग्न सबैलाई बर्खास्त नगरेसम्म ताला नखुल्ने बताएका छन्।
उता संघका उपाध्यक्ष अशोक गुरुङले गलत कार्य गर्नेहरुलाई कार्वाही गर्नुको सट्टा उल्टै शक्तिको दुरुपयोग गर्दै पीडकलाई कार्बाही नगरी उल्टै उनीहरुकै समर्थन गर्ने, प्रसय दिंदा पीडकलाई झनै गलत कार्य गर्न हौसला मिलेको हुनाले अङ्कुश लगाउन र संघको गरिमा कायम राख्न अनुरोध गरेका छन् । नेतृत्वले संघको गरिमामा आँच आउने र बारम्बार नेपालीहरुलाई नै कुटपिट गर्नेहरुमाथि कारवाही नगरे संघभित्र बिद्रोह गर्ने बताएका छन्।
उक्त आक्रमण भएको बिषयमा एनआरएनएमा पीडितले न्यायको निवेदन दर्खास्त गरेका थिए ।तर अध्यक्ष तिलक गैरेले कार्यसमितिलाई जानकारी नगराई सर्बपक्षिय बैठक भन्दै आफ्ना निकटतम अगुवाहरुलाई बोलाएर पीडितलाई डर धाक धम्कि दिएको खबर सार्वजनिक भएको छ । यस अघि सर्बपक्षिय बैठकमा घटना नमिल्ने हो भने सामाजिक अगुवाहरुलाई दिन गन्ती गन्न भन्दै सामाजिक संजाल मार्फत धम्की दिएका थिए।
पेटिशनमा भनिएको छ , ” समाजको सेवक ‘एनआरएनए’ पदाधिकारीहरुले आफुलाई शाशक सम्झने र नेपालीहरुमाथि बारम्बार धाकधम्की, मारपिट र गालीगलौच गर्ने प्रबृत्तिको नागरिक समाज घोर भर्त्सना गर्दछ। समाजका माथि उल्लेखित घटनाका पीडकलाइ कारवाही र पिडितलाई न्याय दिन दवाव स्वरूप एनआरएनए पोर्तुगललाई नागरिक समाजका युवाहरुको आव्हानमा यो हस्ताक्षर अभियान चालिएको हो ।”
पेटिशनमा अगाडी भनिएको छ, “हामी बिश्वभरका नेपालीहरुलाई यो पिटिसनमा हस्ताक्षर गरेर दबाव दिनहुन अनुरोध गर्दछौ। एनआरएनए पोर्तुगल भित्रको गुन्डागर्दीको अन्त्य गर्न, पीडकलाइ कारवाही गर्न र पिडितहरुलाई न्याय दिलाउन यो हस्ताक्षर अभियानमा सहभागी भईदिन हुन अनुरोध छ।”
पेटिशन ( अनलाईन हस्ताक्षर ) अभियानमा सहभागी हुन तलको लिंकमा क्लिक गर्नुहोस्।
एनआरएनए पोर्तुगलभित्रको गुण्डागर्दी बिरुद्ध बिश्वब्यापी पेटिशन ( अनलाईन हस्ताक्षर ) अभियान”