नेपालको संविधान संशोधन, निशान छापमा अब नयाँ नक्शा : प्रतिनिधिसभाको कुल २७५ मत मध्ये संविधान संशोधनको पक्षमा २५८

काठमाडौं ।

नेपालको निशान छापमा अब नयाँ नक्शा अंकित हुने भएको छ । त्यसको लागि संविधान संशोधन भएको छ । सरकारले संघीय संसदमा पेश गरेको संविधान संशोधन विधेयक दुवै सदनबाट पारित भएपछि निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्शा अंकित गर्ने बाटो खुलेको हो ।

संविधान संशोधनकाे लागि विधेयकबारे प्रतिनिधिसभाबाट शनिबार पारित भएको छ । विधेयक आइतबार राष्ट्रियसभाबाट पनि पारित हुने निश्चित छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गर्नुभएको संविधान संशोधन विधेयक संघीय प्रतिनिधिसभाबाट पारित भएको छ ।

संविधान संशोधन विधेयक मतदान प्रक्रिया गरिए पनि करिब सर्वसम्मत रुपमै पारित भएको हो । मन्त्री तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन विधेयक २०७७) माथि दफाबार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । मन्त्री तुम्बाहाङ्फेको प्रस्तावपछि संसदमा संविधान संशोधन विधेयकमाथि दफाबार छलफल भएको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महतो र समाजवादी पार्टी नेपालका उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन, प्रनिधिसभा सदस्य दुर्गा पौडेल, राष्ट्रिय मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, नेकपाका महासचिव विष्णु पौडेल, नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला, ज्ञानेन्द्रबहादुर कार्की प्रकाशमान सिंह, नेकपाका भीम रावल, गोकर्ण बिष्ट देवेन्द्रराज कँडेल, देवेन्द्र पौडेल, डा. अमरेशकुमार सिंह, गणेशसिंह ठगुन्ना, डा. मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी, रामबहादुर विष्ट र लालबाबु पडित लगायतका सांसदहरुले संविधान संशोधनको पक्षमा धारणा राख्नु भएको थियाे ।

सांसदहरुको धारणपछि मन्त्री तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन विधेयक २०७७) लाई पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो । मन्त्री तुम्बाहाङ्फेकाे प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले संविधान संशोधनको पक्ष र विपक्षमा आफ्नो मत जाहेर गर्न सांसदहरुलाई रुलिङ गर्नुभयो । प्रतिनिधिसभा कुल २ सय ७५ सांसदहरु मध्ये २ सय ५८ जनाले संशोधनको पक्षमा मतदान गरे । संशोधन हुन्न भन्ने पक्षमा कुनै पनि मत परेन । सभामुख भएको कारण अग्निप्रसाद सापकोटा मतदानमा सहभागी हुनु भएन । मतदानमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बूढा, नागेन्द्रकुमार चौधरी, प्रमोद शाह, शिवकुमार मण्डल, सूर्यनारायण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल, ज्ञानकुमारी छन्त्याल अनुपस्थित हुनुभयो । हरिनारायण रौनियार, रेशम चौधरी, मोहम्मत अफ्ताब आलम जेलमा रहेको विजयकुमार गच्छदार निलम्बित भएका् कारण मतदानबाट बन्चित भए । मतदानपछि सभामुखले संविधान संशोधन पारित भएको जानकारी गराउनु भयाे ।

यसअघि प्रतिनिधिसभा नियमावलीको नियम १३७ को उपनियम ९ बमोजिम सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई सदस्यको वहुमतबाट स्वीकृत भएमा विधेयक पारत भएको मानिने व्यवस्था अनुसार त्यही नियम १३७ को १० बमोजिम मत विभाजन गराईएको थियो ।

प्रतिनिधिसभाको नियमावलीे नियम १ सय ३७ को उपनियम ९ मा ‘संविधान संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई सदस्यको वहुमतबाट स्वीकृत भएमा विधेयक पारित भएको मानिने छ ।’

त्यसैगरी उपनियम १० ‘संविधान संशोधन गर्ने विधेयक पारित गरियोस् भन्ने प्रस्ताव माथि सभाको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजन द्धारा हुनेछ ।’

मतविभाजनमा जानु अघि ५ मिनेट सम्म घण्टी बजाएर बाहिर हुने सांसदलाई सभामा प्रवेश गराइएको थियो । यसअघि शनिबार नै विधेयकमाथि दफाबार छलफल गरिएको थियो ।

सरकारले अतिक्रमित भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरी नक्सा सार्वजनिक गरेपछि सो नक्सा अनुसार संविधानको अनूसूची ३ संशोधनका लागि जेठ ९ गते संघीय संसद सचिवालयमा नेपालको संविधानको दोश्रो संशोधन विधेयक २०७७ दर्ता गराइएको हो ।

प्रतिनिधिसभाबाट पारित भएको आइतबार राष्ट्रियसभामा प्रस्तुत गरिने भएको छ । संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट पारित हुने निश्चित छ । संविधान संशोधन विधेयक दुबै सदनबाट पारित भएपछि कार्यान्वयनमा जानेछ ।

नेपाली जनता यतिखेर निशान छापमा कालापानी, लिपुलेक र लिम्पिायाधुरासहितको नक्शा कायम गर्ने व्यग्र प्रतिक्षामा छन् । ऐतिहासिक र गौरवपूर्ण त्यो व्यग्र प्रतिक्षा आइतबार पूरा हुनेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार