काठमाडौँ।
समाजवादीकी सांसद सरिता गिरी संसद छोडेर भागेकी छिन्। सभामुखले आफूलाई बोल्न नदिएको भन्दै उनी संसद बैठकबाट बाहिरिएकी हुन् ।
संविधान संशोधन गरेर कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संविधानको अनुसूची ३ अनुसारको निसान छापमा राख्न नहुने संशोधन प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता गराएकी उनले आफूले संसदमा सुरुमा बोल्न पाउनुपर्ने माग गरेकी थिइन् ।
सांसद गिरीको संशोधन प्रस्ताव प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ११२ मा उल्लेखित शर्त विपरीत रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकार गरेका थिए ।
सभामुखले बोल्न नदिएको र सरकारले तथ्य तथा प्रमाणमा आधारित भएर नक्सा जारी नगरेको सांसद गिरीको आरोप थियो । उनले सरकारले पछिल्लो समय नेपाल-भारत सीमा सम्बन्धि प्रमाण जुटाउन समिति गठन गरेको विषयलाई उल्लेख गर्दै नेपालसँग प्रमाण नभएको बताएकी हुन् ।