लिलाराज खतिवडा /नेपाल
हलिउडमा देखाए जस्तो छैन अमेरिका ।
बलिउडमा देखाए जस्तो पनि छैन भारत ।
यी दुबैले हामीलाई भने कल्पनामा बाँच्न सिकाए । सपनामा ज्युँन सिकाए । प्रजातन्त्र र स्वतन्त्रताको कुरा गरेर आफू भने बडेमानका साङ्लीहरु तयार गर्दै रहे, हामीलाई नै बाँध्न । उनीहरुले हामीलाई कल्पनामा बाँधे, सपनामा बाँधे ।
दर्शन, साहित्य, कला, संगीत, सिनेमा र नाटक, बिज्ञान अनि सौन्दर्य शाष्त्रका अनेक तानाबानाहरुमा हामीलाई जेलेर, जिल्याएर, जाकेर उनीहरु भने मिसाइल र तोपका अनेकौँ संस्करणहरुलाई परिस्कृत गर्न ब्यस्त भए ।
केराको बोक्रो पहेँलो गराएर भित्रको फलमा भने उनीहरु साइनाइड कोच्दै रहे । हामीलाई लागिरह्यो केरा पाकेको छ । अनि हामी खूनपसिना गरेर कमाएको पैसाले त्यो केरा किनेर खपाखप खान थाल्यौँ । अनि भ्ल्याट कि भ्ल्याट मर्यौँ । जिन्दगीलाई एक छेउ पनि नज्युँदै हामी स्वाहा भयौँ !
लोलिपप खायौँ । लोप्पा खायौँ । लोलीलोप्पा पनि खायौँ ।
आफ्ना धरोहरहरु लत्याएर वा आफ्ना संकारहरु गलहत्याएर हामी पश्चिमाहरुको भौतिक चरमताको सिकार भइरह्यौँ । पाकेका काफलहरु लत्याएर हामी त्यो ‘बनाना जेनेरेशन’को विषालू चपेटामा परिरह्यौँ ।
हामीले आफ्ना सम्पदाहरु पश्चिमाहरुलाई कौडीको भाउमा बेच्यौँ र उनीहरुका अनेक क्यान्सरहरुलाई घर भित्र्यायौँ ।
लत्ताकपडा, भोजन, स्नानसामग्री, औषधि, शिक्षा, भाषा अनि राजनीति लगायत जीवन ज्युँने हरेक उपक्रमहरुमा हामीले असफल र अआध्यात्मिक पश्चिमाहरुलाई स्थान दियौँ । के पायौँ? रोगै रोग ! शोकै शोक!!
तनाव, छट्पटी, भ्रान्ति, शंका, हिंशा, पागलपन, विक्षिप्तता – आज समाजहरु यसैगरी ग्रस्त छन् । बयान गर्नै गाह्रो हुने गरेर आज संसारका चरम् वास्तविकताहरु हाम्रा अगाडि छरपस्टिएका छन् । बिस्कुन लागेका छन् ।
दुनियाँमा प्रजातन्त्रको सबैभन्दा बढी दुहाइ दिने अमेरिका त भित्रभित्रै एडोल्फ हिटलरको सिद्धान्तमा चलेको रहेछ । डोनाल्ड ट्रम्पको कच्याककुचुक परेको अनुहार र अमानवीय हाउभाउ त ठाडै हिटलरको ब्वाँसो प्रवृत्ति जस्तो रहेछ । कत्रो आडम्बर? अनि श्वेत हुनुको कत्रो दम्भ?
तर त्यही अमेरिका हो जहाँ अब्राहम लिङ्कन जस्ता प्रजातन्त्रका हिमायती र मानवीयताका खानी पनि राष्ट्रपति भएका थिए । दास प्रथा उन्मूलन गरेका, चरम गरिबीबाटै उदाएका, लामो समय खाली खुट्टा हिँडेका लिङ्कन भन्थे, प्रजातन्त्र भनेको जनताद्वारा जनताका लागि जनतालाई शाषन गर्ने पद्धति हो ।
आज फेरि त्यो भूमिले अब्राहम लिङ्कन मागिरहेको प्रतीत हुन्छ । गोली हानेर ढालिएका लिङ्कन साहेबका सपनाहरु अधूरै छन् । ती सपनाहरु पूरा गर्न त्यहाँ फेरि उनको जन्म हुनु अपरिहार्य देखिएको छ ।
यता भारत,
साँच्चै भन्नुपर्दा मोहनदास करमचन्द गान्धीको कुरा गर्न म रुचाउँदिन । मेरो खयालमा उनी केवल एक बृटिश एजेन्ट थिए । धेरै भारतीयहरु उनीसँग खुशी छैनन् ।
भारत अनेक सन्तहरुको भूमि हो । अनेक पटक ज्ञानको ज्योती बलेको माटो हो । जगतको भौतिक अन्धकारमा त्यो ज्योतिले प्रकाश छरेर पनि स्वयम् अहिले अन्धकारमा धँसिएको कहालीलाग्दो अनि भोको भारत …
आजादिको जश्न मनाए पनि भारतीयहरुले बृटिशको लिगेसीलाई अपनाउँदै गए । सामन्ती प्रथा जानअन्जान तवरले मौलाउँदै गयो । दासप्रथाबाट उनीहरु साहूकार प्रथातर्फ आकर्षित भए । भारत अब मानसिक रुपमा झन उग्र रुपमा बृटिश वा पश्चिमाहरुको दास बन्दै गयो । दासहरु एलाइट हुने होडमा लागे । फलस्वरुप भारत निकै ठूलो भुँडी भएको तर हातखुट्टा सुकेर सिन्का जस्तो हुनपुगेको कुरुप मान्छे जस्तो हुनपुग्यो ।
अनि त्यही भारतले नेपाल नामको हाम्रो सम्बृद्ध देशलाई सेप गर्यो । ठूलो रुखले त्यसमुनिको उर्वरता खाइभ्याए जस्तो । कालान्तरमा त हामी पो किकृक्क पर्दै गयौं ।
हामी छत हौँ दुनियाँको ।
हामी हिमालय हौँ उदात्त, अनि सर्वोच्च ।
तर यो हाम्रो अहंकार होइन, वास्तविकता हो ।
आज फेरि एकपटक त्यही वास्तविकता पुरै दुनियाँसमक्ष पुर्याउनु टड्कारो भइसकेको छ । सर्वोच्च श्रीङ्गबाट अब हामीले शान्तिको विगुल बजाउनु पर्दछ ।
दुनियाँका सारा प्रणालीहरु असफल भइसकेका छन् । अब हामीले हाम्रो नैसर्गिक आध्यात्मको रहस्य उजागर गर्ने बेला आएको छ ।
जय सर्वोच्चता!!