भुईमान्छेका क्रान्तिकारी सपना र लोकतन्त्र दिवस

. सुरेश जोशी , पोर्चुगल

नमस्कार , म भुईमान्छे । मेरा आफ्नै स्तरका गुलाबी सपनाहरु छन् । सालनाल देखि ब्रह्मनालसम्म आम भुईमान्छेले देखेका , देख्नसक्ने सपनाका कुरा गरौ आज । जिन्दगीको सुरुवाती दिनहरु डडेल्धुराको सुदूर पहाडमा नेपाली बोल्ने सपना , अंग्रेजी सिक्ने सपनाले स्कुले बिद्यार्थी बनाएको थियो । स्कुले जिन्दगीले सपना देख्न , उडान भर्न र सपनामा सपानाकै योग गर्न माहिर बनायो ।

१० बर्ष , ३ फरक बिद्यालयको हाता , फरक जीवन भोगाईले सपना पनि फरक -फरक हुँदै जान्छन् ।

देश जनयुद्दबाट गुज्रिरहेको बेला मेरो स्कुले जिन्दगी पनि सपनाको त्यो कालखण्डमा गुज्रियो जहाँ अनगिन्ती गुलाबी सपना र आफ्नो जिन्दगीको एउटा सुन्दर चित्र कोरिरहे ।

जिन्दगीले कुनै बाद नजानेको बेला जिन्दाबाद र मुर्दाबादका नाराहरु सुन्न थाल्यो । म जिन्दाबाद भन्न रुचाउने ,जिन्दाबादसंग अनगिन्ती सपना छन् जस्तो लाग्ने । केहि बर्ष जिन्दाबाद भन्नु र सदैब जिन्दाबाद भन्न सक्नु फरक कुरा होलान तर जिन्दाबाद किन किन मुर्दाबाद भन्दा पक्कै सुन्दर चै हुन्छ ।

देशमा अझै पनि जातिय विभेदले जरा गाडेको छ , ज्वलन्त उदाहरण केहि दिन अघि नबराजको हत्या प्रकरणलाई हेरौ । तन्त्र फेरिदैमा , कानुन बन्दैमा , चेतना नफ़ेरिदो रहेछ । चेतना फेर्न चेतनामा शुद्दिकरण गरीनै पर्छ। चेतनाबाहकहरु लाई चेतना फैल्याउन हौशला दिनुपर्छ । किनकि यो समय हो अत्याधुनिक चेतनाको । हामि लोकतन्त्रमा कस्तो चेतनाले प्रवेश गर्दैछौ यसको बहस कहिल्यै भएन अब हुनु जरुरी छ ।

भुईमान्छेका सपनाको आडमा सत्ताको बाग्डोर सम्हालेका पूर्व छापामारका सगरमाथा झै अग्ला दिवा स्वप्नका पर्खालहरुले च्यापिएको मनोग्रन्थी लोकतन्त्रमा खुल्नु र फुल्नु पर्दछ अझै भन्ने हो भने फल्नु पर्दछ । हात्ती छाप चप्पल र गोल्ड्स्टार जुत्ताको सरापले आफै हिडेको बाटो पनि आजकल अनौठो लाग्दो त पक्कै हो, झन् अनौठो त प्रचन्ड पथ भनाउदो आत्म आलोचित सिद्दान्त ।

म गृहयुद्द अर्थात माओबादी आन्दोलन ताका गृह जिल्ला डडेल्धुराको स्कुले विद्यार्थी थिए। म बस्ने स्कुलको छात्राबास देखी म पढ्ने स्कुल पुग्ने बाटो लाग्थ्यो मलाई प्रचण्डपथ र स्कुले जिन्दगीका २ बर्ष मा धेरै चोटी क्रान्तीकारी भए , कम्युनिष्ट प्रतिको मोह बढ्यो अर्थात मैले परिवर्तन भनेको यहि प्रचण्डपथ मै हिडेर हुन्छ भन्ने मान्न शुरु गरे । एउटा घटना स्मरणमा छ – मलाई पढाउनु हुने ३ जना गुरुहरुको तलब नपाएको दुखमा म क्रान्तीकारी भएर स्कुलको सुचना पार्टीमै गज्जबको बिद्रोही भाषा शैलीमा सुचना टासेको थिए । यो घटनाले मलाई, म भित्रको सपनालाई , खुल्न र फुल्न प्रेरित गर्यो तर क्रान्तीकारी कित्तैमा भने पुर्याएन ।

भुईमान्छे आफूमाथि गरिएको विभेद , अन्यायिक व्यवहारको खुलेर बिरोध गर्दै जवानीमा प्रबेश गर्छ ।सपना र आकाश फराकिला हुदै जान्छन । सपनाका विभिन्न खाले आकारहरु र आकाशहरुका रंग फरक -फरक हुदै जान्छन । म आफ्नै सपनासँग क्रान्तीकारी हुदै जान्छु र देश भित्रको राजनैतिक , सामाजिक आन्दोलनलाई आफ्नै ढंगले बुझ्दै जान्छु । मेरा जीवनका बिश्वाशहरु गलत साबित हुन्छन कतिपय । म गलत जीवन बिश्वाश बोकेर बाचेकोमा सपना र आकाश साक्षी राखेर मनोद्वन्द गर्छु र देश बोकेर परको देशमा ज्युन बाँकी जिन्दगीका यावत सपना देख्ने निधो गरेर युरोप भासिन्छु ।

यो युरोप भसाईले मेरो जिन्दगीलाई १८० डिग्रीमा सपनाका आकृतीहरु देखायो । जिन्दगीका अहिले सम्मका अनगीनत जीवन बिश्वाशका धर्शाहरुमा मसि फेर्न बाध्य गरायो जीवन भोगाईले । मेरो आफ्नै जीवन भोगाई र आफैले देखेका सपनाहरुको कहिले तालमेल भयो त् कहिले पिटिक्कै भएन । मुख्य कुरा ज्युनु र समयका अनगीनत आरोह अवरोहमा जिन्दगीको सुन्दर तस्बीर देखिरहनु ठुलो कुरो रहेछ । १ हजार १ सय ७१ दिन केहि गरिएन , गरियो त् केवल आफैले देखेको जिन्दगीको तस्बिर सँग अगाध प्रेम । प्रेम न डरले गरियो न रहरले बस प्रेम गरियो । देख्न र भन्न त् पुरै दुनिया छ , बुझ्न र भोग्न आफु सदैब तयार रहनु पर्दछ ।

युरोप बसाई र भसाईमा एक समानता भेटियो त्यो हो आफ्नै सपनाका आकारहरु , समस्याका चरण , आकासको फरक रंग अनि उमङ्ग, पसिनाको गन्धको आनन्द , ईमानको कमाईको खोटो , आफ्नो भोटो र भोटो भित्रको लुकेको कथा । मेरा लागि बर्षौ घर भन्दा बाहिर बस्नु ठुलो कुरो थिएन अर्थात म होमसिक भन्ने जिनिसको प्रेमी कहिल्यै भएन । बिक्रमको ६० को दशकमा आफैले देखेका जीवनका सपना र चित्र भित्र रंग भर्न ६ बर्ष नेपालमै थिए , म आफ्नै धुनमा थिए , जिन्दगीको सुन्दर चित्र प्रति प्रेम थियो , गरिरहे । मलाई न केहि पछुतो छ न गर्ब मेरो प्रेम गर्ने शैलीप्रति तर म जिन्दगीको भावी चित्रलाई प्रेम गरिरहन्छु । यादका अनगिन्ती पोका खोल्दै जाँदा २०६० पछिका यी हरेक बर्षले मलाई अनगिन्ती चित्र दिएको छ जिन्दगीको । आफुलाई आफै भित्र खोजिरहेको छु जस्तो गरी ।

जिन्दगीले ३ दशक फन्को मारिसके पछि भुईमान्छेका क्रान्तीकारी सपनाहरुको गिन्ती सुरु हुन्छ । लाग्छ अरुले निर्धारण गरिदिएको सफलता , असफलता , राम्रो , नराम्रो , सभ्य , असभ्य, ईमानी, बेईमानीका साँघुरा घेराहरुको छुवाईमै कयौंन मान्छे अल्झिन्छन कयौं बर्ष । म अछुतो कसरी रहुला र म पनि अल्झे । आफुले बनाएको , मानेको घेरो भन्दा अरुले निर्धारण गरिदिएको घेरोलाई प्रेम गर्न जुन दिन मैले छोडे सायद त्यहि दिन देखि म आफ्नै लयमा फर्किए , सपनाको कारखानाको मालिक भएर । मेरा सपना मेरो औकात भन्दा माथिका पनि हुन् सक्छन मलाई थाहा छ , तर ती सपनाले मलाई दिने जिन्दगीको सुन्दर चित्रलाई म जसरी प्रेम गरिरहेको छु त्यो महत्वको कुरो हो ।

अहिले म युरोपको पोर्चुगल भन्ने देशमा छु , यहाँ के राम्रो के नराम्रो भन्ने कुरोतिर नमोडिम । यहाँ सबैभन्दा राम्रो भनेको १२ औं शताब्दीको विश्वबिद्यालय हुनु मेरो लागि सबैभन्दा राम्रो कुरो हो । ७ शताब्दी पहिलेदेखि चेतनाबाहकहरु जन्मिए , हुर्किए र विश्वभरी चेतना फैल्याउने क्रमको सुरुवात गरे । अँझ सबैभन्दा राम्रो कुरो लाग्ने भनेको भास्को दी गामाले सामुद्रिक यात्रा गरेर ईन्डियामा पनि मान्छेहरु बसोबास गर्छन भन्ने खोज गरे । सामुद्रिक हिरोहरुको देशमा चेतनाका अनगिन्ती हिरोहरु जन्मिए बितेका ७ सय बर्षहरुमा । सपनामा आफ्नो जिन्दगीको सुन्दर चित्र देखेको देश हो पोर्चुगल मेरा लागि । अनगीनत नराम्रा पक्षहरु छन् नेपाली समाजमा त्यतातिर अहिले मोडिन हतार नगरौं । हतार गर्ने नै भने बरु तिनै नराम्रा पक्षहरु आत्मसाथ गर्दै जिन्दगीका सुनौला ४ बर्ष सुधारका लागि आफ्नो क्षेत्रबाट गरेका कर्महरुको लेखाजोखा सबैले गरौ । म भुईमान्छे मैले गरेका यी यी कर्मले नेपाली समाजको चेतनामा यत्ति यत्ति परिवर्तन भयो , मेरो आफ्नै चेतनामा यत्ति यत्ति परिवर्तन भयो म जस्तै भुईमान्छेहरुले भनिदिंदा सुहाउला , सुहाउँछ । आफैले आफ्नो तारीफ गरेर नथाक्ने परिवेशमा म त्यस्तो तारीफ गर्दिन ।

यो समय हो आफैले देखेका सपना र आकाश मुनिको बास्तबिकता भोग्दा र जोख्दा जे जति तौल निस्कन्छ तो पस्किने । मेरा सपना भ्रम थिएनन् , सत्य सदैब साधारण नै हुन्छन , भ्रम भए पो ठुला हुन्थे । सत्य निकै साधारण छ , बस बुझाई जटिल भईदियो । अरुले के बुझे त्यसको हिसाब किताब आफैले गर्ने दुस्साहस गर्न छोडेकै दिन साहस आउछ आफैले आफैलाई सलाम गर्न सक्ने । अरुले गर्ने भनेको आवश्यकता अनुसार तालि र गाली मात्र । आफुले आफैलाई आफ्नै एक फन्को घुमेर अध्ययन गरेर त् हेर्ने दुस्साहस गरौ ।

देशको भूगोल भन्दा पर माटोको मान्छेको महत्व बुझ्ने अवसर मिल्छ । देश कागजमा कोरिएको सिमाना मात्रै कहाँ हुनु ? देश मान्छेको आफ्नै बुझाइले निर्धारण गरोस , यहि हो देश अनि देशप्रेम भन्ने चेतनाको औकात मेरो हुनु कहाँ ? तर देशभित्र जन्मेर देशभित्रै हुर्केर देशभित्रै जिन्दगीका हरेक सुर्योदय र सुर्यास्त हेरी हेरी जिन्दगी बिताउछु भन्ने भुईमान्छेहरुको जीवनको सपना र ती सपना प्रतिको केवल प्रेमले मान्छे क्रान्तीकारी हुन्छ , देशको राजानैतिक ब्यबस्था र अवस्थामा परिवर्तन होस् भन्ने अपेक्षा गर्दछ । देशमा तन्त्र मात्रै फेरियो । मेरो बुवा मेरो सबैभन्दा ठुलो गुरुलाई सम्झिन्छु यतिबेला । उहाँले भन्नु भएको थियो एक दिन – चेतनामा परिवर्तन आए पो तन्त्र फेरिनेछ नत्र त् उही चेतनाले जुन सुकै तन्त्र आए पनि फरक पर्ने चै के हो ?

देशमा अझै पनि जातिय विभेदले जरा गाडेको छ , ज्वलन्त उदाहरण केहि दिन अघि नबराजको हत्या प्रकरणलाई हेरौ । तन्त्र फेरिदैमा , कानुन बन्दैमा , चेतना नफ़ेरिदो रहेछ । चेतना फेर्न चेतनामा शुद्दिकरण गरीनै पर्छ। चेतनाबाहकहरु लाई चेतना फैल्याउन हौशला दिनुपर्छ । किनकि यो समय हो अत्याधुनिक चेतनाको । हामि लोकतन्त्रमा कस्तो चेतनाले प्रवेश गर्दैछौ यसको बहस कहिल्यै भएन अब हुनु जरुरी छ ।

म आम किसानको छोरो , निम्न मध्यम बर्गीय परिवारमा हुर्के , बढेको । मलाई हरेक शाषकहरुले आफ्ना सपना सजिलै किन्न सिकाए , उनीहरुले बेच्न जाने म सँग । हरेक भुईमान्छेका बुई चढेर सत्ताको कुर्ची अर्थात मुतको न्यानोमा रमाउने चिन्तनले पक्कै पनि तन्त्र फेरिदैमा केहि फरक चै नपरेकै हो । फरक त् पर्ने थियो पहिले चेतना फेरिएको भए , तन्त्र जुन सुकै होस् । आज लोकतन्त्र दिवस मनाइरहेको छ म जन्मेको देश नेपाल । सिमाना मिचेकोमा आफु जन्मेको देशको प्रेम प्रबासमा देखाउदै छ भू पु नेपाली सन्तान । ओली सरकार र उसका चेतनाबिहिन सल्लाहकारको सल्लाहमा उर्दी जारी गर्छ नेपालको सरकारले कि दिपावली गर्नु त्यो पनि ३/३ दिन । देशको सिमानामा जसले पहरा दिदैछ ऊ भोकै छ , सशस्त्र कम्ब्याट भिजेको छ पसिनाले , यो तन्त्र कै दिन देशको ब्यबस्था प्रति अपन्वत्व किन गर्नै नसकने भए म लगायतका भुईमान्छेहरु , जसले देखेका थिए देशमै बस्ने सपना र गरेका थिए आफ्नै सपनाका खातिर क्रान्ती आफ्नै सपनासँग ।

र अन्त्यमा आज भुईमान्छेहरुका क्रान्तीकारी सपना पुरा भएको दिन अर्थात लोकतन्त्र दिवस ।

आज एकदुई थान भुईमान्छेहरु लासको जगमा बनेको सपनाको घरमा रगतको लिपाई गरी झुटको तला तप्दै आकास छुने रहर पुरा गर्न सफल भएकै हुन् ? मेरो प्रश्न सबैसँग हो । प्रिय , नेपाली लोकतन्त्रका शासकहरु हो ! देशको इज्जत बेचेर , स्वाभिमान बन्दकी राखेर लोकतन्त्रमा भ्रष्टाचारको बिधिले सजाएको, सजिएको ढुकुटी तिम्रो न रित्तियोस । फेरी अर्को तन्त्रको नाममा कही कोही पनि भुईमान्छेहरु बित्थामा बलीका बोका नबनुन ,नहुन । सार्बभौमिकता र अखण्डता रहीरहोस । गुलाम बन्नु नपरोस । इमान बेचिएका मुखौटाहरुलाई र हामी निर्धाहरुलाई पनि यो तन्त्र प्राप्तिको लागी बधाई तथा शुभकामना छ । तन्त्र मात्र प्राप्त भएछ , तन्त्रसँगै तन्त्र सुहाउदो चेतना र सत्बुद्दि सबैमा आओस भन्ने भुईमान्छेको क्रान्तिकारी सपना छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार