अफ्रिकामा नेपालीको शान राख्दै सुवेदी र छतकुली

भाग्यवादमा विस्वास गर्ने हो भने भाग्यले नै जुराएको हुन सक्छ, चितवनका एकराज सुवेदी र रूद्रराज छुतकुलीलाई सिसेल्स पुग्न । सायद त्यहि भाग्यले नै तानेर हो या साहसी नेपालीको कर्मले हो, चितवन राप्ती नगरपालिका वडा नं ३ झुरझुरे निवासी ४० वर्षीय एकराज सुवेदी (पवन) र अर्का खैरहनी नगरपालिका वार्ड नं १२ का ३९ वर्षीय रूद्रराज छुतकुली (राज) दुबैको भाग्य अफ्रिकी देश सिसेल्समा त्यसरी नै चम्किएको छ ।

अफ्रिकाको सिसेल्सका बहादुर नागरिकले गर्न नसकेको काम सुवेदीले गरेका छन् भने छुतकुलीले अतिरिक्त कृयाकलापमा आफूलाई उच्च स्थानमा राख्न सफल भएका छन् । तिन्ले अफ्रिकी देश सिसेल्समा नेपाल र नेपालीको शान अनि मान राख्न सफल भएका छन् । सुवेदी र छतकुली दुबै पुर्व नेपाली सैनिक हुन् ।

छिटो अनि धेरै धन कमाउने सपनालाई साकार पार्न सन् २०१२ मा सुवेदी र २०१६ मा छतकुली पूर्वी अफ्रिकाको सिसेल्स पुगे । सिसेल्स पुगेर उनीहरू सिसेल्स प्रहरीमा जागिरे भए ।

धेरै पैसा कमाउने सपना बोकेर विदेश पुगेका युवाहरुले आफूले सोचेजस्तो धन कमाउने सपना पूरा हुँदैन । तर, यी दुबैलाई सिसेल्सले धन मात्र नभएर मान सम्मान पनि दिएको छ । त्यो त्यसै पाएको सम्मान भने होइन । सुवेदीले आफ्नो ज्यानको बाजी थापेर ३५ सिसेल्वा नागरिकको ज्यान बचाएको कारण उनलाई उक्त सम्मान मिलेको हो । छुतकुलीलाई भने राष्ट्रीय दौड प्रतियोगिता (म्याराथुन)मा उच्च स्थान प्राप्त गरेका कारण मिलेको हो ।

सुवेदी २०१४ मा सिसेल्स पब्लिक ट्रान्सपोर्ट कर्पोरेशन (एसपिटिसी) बसमा निजी कामको सिलसिलामा यात्रा गर्दै थिए । उक्त बसमा ३५ जना सवार थिए । बस उकालो बाटोमा गुडिरहेको थियो । यत्तिकैमा चालक गाडि रोकेर पसल तर्फ लागे । अचानक बस आफैं ओरालो लाग्न थाल्यो ।

बसमा सवार सिसेल्सका नागरिक ‘दुर्घटना हुन थाल्यो’ भनेर रुन, कराउन थाले । त्यसका केहि यात्रु घाईते भए । सुवेदी पनि अछुतो रहेनन् । तर, पनि उनले हिम्मत हारेनन् । सकि नसकी ड्राइभर बस्ने सिटमा पुगेर गाडीको स्टेरिङ समाए । गाडीलाई तत्काल नियन्त्रणमा लिए । आफूसहित ३५ जना सिसेल्वा नागरिकको ज्यान जोगाए । सुवेदीले तत्कालै बुद्धि नलगाएको भए त्यहाँ ठूलो दुर्घटना हुन सक्थ्यो । तर, उनले आफ्नो बहादुरीपन देखाएर सबैको रक्षा गरे ।

सुवेदीको यस साहसिक कार्यको उच्च मूल्यांकन गर्दै सिसेल्स सरकारले सिसेल्स प्रहरी विभागका तर्फबाट र विभिन्न प्राइभेट क्षेत्रबाट सुवेदीलाई विभिन्न मेडल र झन्डै नेपाली रूपियाँ एक लाख बराबर नगद सहित उच्च सम्मान गरिएको थियो । सुवेदीको उक्त साहसिक कार्यको सिसेल्सका विभिन्न संचारमाध्यमहरुले पनि खुब प्रसंसा गरेर लेखेका थिए । अर्कातिर छतकुलीले २०१८, २०१९ र २०२० मा राष्ट्रिय दौड प्रतियोगितामा प्रत्येक वर्ष नगद सहित पदक विजेता भई नेपालीको सान राखेका छन् ।

छतकुली हाल रजत, कांस्य र स्वर्ण गरि ३ वटा पदक विजेता बनेका छन् भने नेपाली रूपियाँ झन्डै ३ लाख बराबर हात पारिसकेका छन् ।

विदेशी भूमिमा रहेर पनि एकल र साहसिक कदमले बसका ३३ यात्रुको ज्यान सम्भावित दुर्घटनाबाट बचाएर एकराज सुवेदीले अफ्नो प्रसिद्दि, शान र मान कमाए । सँगै नेपालको शिर माथि चढाए । विदेशी जिवनको व्यस्तताका बावजूद राष्ट्रिय दौड प्रतियोगिता जस्तो खेलमा उच्च स्थान प्राप्त गरि नेपालीको राम्रो परिचय दिन सफल भएको भन्दै एन सिसि सिसेल्सका अध्यक्ष राम प्रसाद पन्तले खुसी ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार