बेइजिङ |
चीनको दक्षिण पश्चिम क्षेत्रस्थित किआओजिआमा भूकम्प जाँदा चारजनाको मृत्यु भएको छ । अरु २४ जना घाइते छन् ।
स्थानीय अधिकारीहरुका अनुसार मंगलबार ५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प गइरहँदाको भिडिओ क्लिप स्थानीयहरुले सामाजिक सञ्जालमा भाइरल बनाएका छन् । चिनियाँ मिडियाका अनुसार ६० लाख मानिसको बसोबास भएको झाओतोंग सहर नजिकै भूकम्प गएको हो ।
घटनास्थलमा अहिले कम्तिमा ६ सय उद्धारकर्मीहरु खटाइएका छन् । गत वर्ष सिचुआन प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प जाँदा १३ को मृत्यु भएको थियो । २ सय घाइते भएका थिए । साथै ठूलो संख्यामा भौतिक संरचनाको क्षति भएको थियो ।
त्यसअघि २००८ मा सिचुआनमै ७ दशमलब ९ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा ८७ हजार मानिसको मृत्यु र वेपत्ता भएका थिए ।