काठमाडाैं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारत–नेपाल सीमाक्षेत्रमा अलपत्र परेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारसँग आग्रह गरेको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कयौं दिनदेखि भारतसँगका विभिन्न सीमा नाकामा नेपाली अलपत्र अवस्थामा रहेको र पछिल्लो चौबीस घन्टामा थप हजारौं नेपाली सीमा क्षेत्रमा आइपुगेको विवरण प्राप्त भएको जनाइएको छ । भारतको विभिन्न शहरबाट नेपाली सीमामा आइपुगेका नेपालीलाई प्रवेश गराउनेबारे संघीय सरकारले प्रष्ट नीति तय गरेर निर्देशन जारी नगर्दा नेपालीहरु अलपत्र अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।
सरकारले तत्काल गम्भीरताका साथ उनीहरुलाई पहल नगर्ने हो भने खाने बस्नेको कठिनाइका कारण हजारौं नेपाली दसगजा क्षेत्रमा थप प्रताडित हुनेछन् भने अर्कातर्फ लुकिछिपी नेपाल प्रवेश गर्ने कतिपयको प्रयत्नले कोरोनाको जोखिम झनै बढ्ने कुरा उल्लेख गरीएको छ ।
पछिल्लो समय भारतले सीमा क्षेत्रका क्वारेन्टाइनमा रहेका नेपालीलाई सीमासम्म ल्याएर छोडिदन थालेको छ ।