काठमाडौँ।
वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुईजना कोरोना भाइरस संक्रमित भागेका छन्।
बुधबार अपरान्ह दुईजना संक्रमित भागेपछि खैलाबैला भएको छ।
दुईजना कोरोना संक्रमित भागेपछि अहिले जिल्ला प्रहरी कार्यायलयबाट एसपी गंगा पन्तसहितको टोली अस्पतालमा पुगेको छ।
‘मैले पनि दुईजना संक्रमित भागेको खबर पाएँ’, उनले भनिन्, ‘म अस्पताल पुगिसकेकी छु, विस्तृत विवरण बुझ्दैछु। हामी तत्काल खोजतलासमा लाग्छौं।’
भागेका दुवैजना मंगलबार दिउँसो भेटिएका ३९ संक्रमितमध्ये हुन्। मंगलबार दिउँसो पर्सामा ३९ र बारामा एकजना संक्रमित भेटिएका थिए।
मंगलबार पर्सामा भेटिएका ३९ संक्रमितमध्ये छपकैया क्षेत्रसहित वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका हुन्। त्यस्तै छिपहरमाई गाउँपालिकामा पनि संक्रमित भेटिएका थिए।