टोरोन्टो।
कोरोनाको महामारीबाट प्रभावित भएकालाई ‘हेल्पिङ ह्यान्ड’ क्यानाडाले सहयोग गरेको छ । उसले इमर्जेन्सी कोषमार्फत नगद सहयोग गरेको हो ।
कोरोना प्रभावितलाई समस्या नहोस् भन्दै संस्थाले एक महिना अघि ‘कोभिड–१९ इमर्जेन्सी कोष’ स्थापना गरेको थियो । कोषमा अमेरिका र क्यानाडामा बस्दै आएकाहरुबाट संस्थाले ५ हजार ५० डलर सहयोग संकलन गरेको हो ।
संकलित रकमबाट क्यानाडाको बिभिन्न कलेज तथा विश्व विद्यालयमा अध्ययनरत नेपाली बिद्यार्थी, गोयल्फ जनरल हस्पिटल, सनि ब्रोक हस्पिटल, फुड बैंक क्यानाडा, गैह्र आवासीय नेपाली संघ क्यानडा र नेपालको एक विपन्न परिवारलाई सहयोग गरिएको संस्थाले जनाएको छ । संस्थाले अञ्जनीराज भट्टराईको संयोजकत्वमा भैपरी आउने राहत कोष, ६ सदस्यीय सल्लाहकार कमिटी र राजन श्री छत्कुलीको संयोजकत्वमा १५ सदस्यीय कोबिड–१९ भैपरी आउने राहत कोष कमिटी स्थापना गरिएको बताइएको छ ।
आइतबारमात्रै एनआरएनए क्यानाडाका अध्यक्ष चिरञ्जीवी घिमिरेलाई ‘हेल्पिङ ह्याण्ड’ कोभिड–१९ इमर्जेन्सी कोषका संयोजक भट्टराई लगायत संस्थाका अन्य प्रतिनिधी ऋषिकेश घिमिरे र रबिन्द्र आचार्यमार्फत एनआरएनए कोषको सहयोगका लागि चेक हस्तान्तरण गरिएको बताइएको छ ।
संस्थाले स्थापनाको छोटो समयमा नै क्यानाडालगायत नेपालमा समेत सामाजिक कार्य गर्दै आइरहेको छ । उसले महामारीका बेला सहयोग प्रदान गर्ने सबै दातालाई धन्यावाद ज्ञापन समेत गरेको छ ।