गुजरात ।
लकडाउनका कारण परिवारको छाक टार्न नसकेपछि भारतको गुजरातमा एक जना नेपालीले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा अछाम बान्नीगढी गाउँपालिका जनावलीका शेरे हुडकेली रहेका छन् ।
उनी परिवारका ६ जना सदस्य सहित गुजरातको राजकोटमा बस्दै आएका थिए ।
लकडाउनका क्रममा मालिकले जागीरबाट निकालिदिएपछि बेखर्ची भएका उनले कहीकतैबाट परिवारको छाक टार्न खाद्यान्न जोहो गर्न नसकेपछि आज बिहान झुण्डिएर आत्महत्या गरेको सुदूर पश्चिम समाज भारतका प्रथम उपाध्यक्ष दीपक खड्काले बताए ।
लकडाउनका क्रममा उनलाई मालिकले जागीरबाट निकाले । परिवारका ६ जना सदस्य सहित गुजुरातको राजकोटमा बस्दै आएका उनी जागीरबाट निकालिएपछि बेखर्ची भए । डेढ महिनासम्म परिवारलाई जेनतेन खाना खुवाए ।
सबैचिज सकिएपछि उनले बिभिन्न संघसंस्थासंग एक छाकका लागि राहत सामग्री दिन हारगुहार गरे । तर कहीकतैबाट सहयोग पाएनन । निरुपाय भएपछि उनले आज बिहान आत्महत्या गरे ।
सरकारले समयमै उद्दार नगर्ने हो भने भारतमा रहेका लाखौ नेपालीहरुले यही नियति व्यहोर्नुपर्ने छ ।
उनीहरुको कुनै देश छैन । र उनीहरुका लागि कुनै सरकार छैन । भारत सरकारका लागि उनीहरु नेपाली हुन् । नेपाल सरकारका लागि उनीहरु बोझ हुन् र समस्याको जड पनि ।
भारतमा देश र सरकार बिहीन अवस्थामा भोकभोकै बाँचिरहेका कति नेपालीले यसरी आत्महत्या गरेपछि नेपाल सरकारले उद्दार गर्ने हो ? सीमा खोल्ने हो ?