धनगढी ।
लकडाउनकामा छाक टार्न समस्या भएकाहरुलाई बिभिन्न सामाजिक संघसंस्था, व्यवसायी र स्थानीय सरकारले राहत सामग्री वितरण गरिरहेको समाचार घरभित्रै बसेर सामाजिक सञ्जाल मार्फत जानकारी पाईरहेका एवान ड्राई क्लिनर्सका सञ्चाचक सुरेन्द्र थापाले मनमनै सोचे– बोल्नेहरुले त राहत पाईरहेका छन् । तर भोक व्यक्त नगर्ने कुकुरलाई कसले खानेकुरा दिए होलान ?
डेढ महिना लामो लकडाउनमा घर भित्रै बसेका थापा त्यसपछि भने घर भित्रै बसिरहन सकेनन ।
उनले मासु भात पकाए । र केही साथीहरुसंगै सडकमा निस्किए । धनगढी बजारका दुई सय बढि कुकुरलाई मासु भात खुवाए ।
केही दिनयता यसरी सडकमा रहेका कुकुरहरुलाई मासु भात खुवाउने अभियान नै शुरु भएको छ ।
सडकमा रहेका चौपाया र कुकुरहरुलाई चोट पटक लागेको देखेपछि पशु स्वास्थ्य कार्यालय लैजाने गरेकी एक्सिस विद्याश्रममा कक्षा ११ मा अध्ययनरत सिद्धी पन्तलाई पनि कुकुरहरुको पीडाले छोयो ।
अरुले राहत पाईरहेका छन्, कुकुरलाई त कसले खाने कुरा दिन्छ होला ? उनका प्रश्नमा पनि उब्जियो । त्यही प्रश्नले उनलाई कुकुरलाई खाने कुरा प्रदान गर्न प्रेरित ग¥यो । र उनी केही दिनदेखि निरन्तर रुपमा सडकमा रहेका कुकुरहरुलाई खाने कुरा उपलब्ध गराउदै आएकी छन् ।
उनलाई यो कार्यमा उनका बुवा हरीहर पन्त र आमा अनिता पन्तले सहयोग गर्छिन ।
सिद्धीले दैनिक २० भन्दा बढि कुकुरलाई कहिले दुध भात र कहिले अण्डा भात खुवाउने गरेको बताईन ।
लकडाउन शुरु भएको केहीपछि कुकुरहरुलाई यसरी खाना खुवाउन थालेकी सिद्धीले लक डाउन जारी रहेसम्म खुवाउने बताईन ।
सिद्धीले हसनपुर, धनगढी मूल सडक, पार्कमोड र जिविस मोडमा रहेका कुकुरहरुलाई खाना खुवाउदै आएकी छन् ।
यो अभियानमा थापा र पन्त मात्र सहभागी छैनन । धनगढी उपमहानगरपालिका–५ हसनपुरका प्रभाकर भण्डारी पनि केही दिनयता हसनपुर क्षेत्रका कुकुरहरुलाई दैनिक खानेकुरा उपलब्ध गराउदै आएका छन् ।
सिद्धी, थापा र भण्डारीले छुट्टाछुट्टै रुपमा यो अभियान शुरु गरेका हुन् ।