लिस्बन ।
पछिल्लो समयमा पोर्चुगलमा नेपालीहरुमा कोरोना संक्रमण बढ्दो छ। हालसम्म ३१ जना नेपालीलाई कोरोना संक्रमण भएको पुष्टी भईसकेको छ। बाहिर खुल्न नचाहेका र संक्रमणको खबर गोप्य राख्न चाहने नेपालीहरुको कारण यो संख्या निकै बढी हुनसक्ने अनुमान छ।
संक्रमण पश्चात् अप्ठेरो परिस्थितिका कारण सहयोग वा सल्लाहका लागि कोरोना उद्धार तथा राहत समितिमा सम्पर्कमा आउने नेपालीहरुको अवस्था मात्रै थाहा हुने भएकोले संक्रमित नेपालीहरुको संख्या निकै बढी हुनसक्ने अनुमान गरिएको छ।
संक्रमितमध्ये १९ जना उपचार पश्चात निको भएर सामान्य जीवनमा फर्केका छन् । १२ संक्रमितमध्ये तीनजनाको अस्पतालमा उपचार भईरहेको छ। दुईजना सरकारी अस्थायी शिविरको क्वारेन्टाइनमा रहेका छन् भने बाँकी सातजना आफ्नै घरमै आइसोलेशनमा रहेका छन् ।
लकडाउन खुलेपछि नेपालीहरु खुल्ला रुपमा हिड्न थालेका छन्। शहरका विभिन्न पार्क र सार्वजनिक स्थानहरुमा नेपालीहरुको जमघट बढ्न थालेको छ। कयौ नेपालीहरु पार्कहरुमा रमाइलो गर्दै पिकनिक गर्दै रमाउने गरेका छन्। लकडाउन खुलेतापनि कोरोना संक्रमणको जोखिम कम भएको छैन। सावधानी अपनाउन जरुरी देखिन्छ।