काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक गृहकार्य नपुग्दा स्थायी समिति बैठक स्थगित भएको बताउनुभएको छ । बिहीबारको लागि तोकिएको स्थायी समिति बैठक एजेण्डा तयार नहुँदा अन्योलमा परेको हो ।
अध्यक्ष दाहालले बिहीबार संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि स्वाव दिएपछि एजेण्डाबारे दुई अध्यक्षबीच छलफल जारी रहेको जानकारी दिनुभयो । ‘यस विषयमा मेरो प्रधानमन्त्रीजीसँग छलफल भइरहेको छ’ उहाँले भन्नुभयो, ‘अलि गृहकार्य नपुगेकै हो । दुबै अध्यक्षले बैठक एक दुई दिन भित्र बोलाउँछौँ ।’
अध्यक्ष दाहालले संसद सभाहलको अनुगमन समेत गर्नुभएको छ । अनुगमनपछि अध्यक्ष दाहालले अब संसद बैठक ढुक्कसँग बस्न सक्ने वातावरण बनेको उल्लेख गर्नुभयो । ‘पहिले एक सिट छोडेर बस्ने भन्ने थियो तर अहिले दुई सिट छोडेर बस्न मिल्ने बनाइएको छ, प्रधानमन्त्रीका लागि २ वटा रो नै छोड्ने र माथि पनि प्रयोग गर्ने बनाइएकाे छ’ उहाँले भन्नुभयो, ‘स्यानिटाइजेसन गरेर राम्रोसँग स्वास्थ्य सुरक्षाका उपाय अपनाइएको छ । ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छ ।’
संघीय संसदका सांसद तथा कर्मचारीको स्वाव पीसीआर परीक्षणका लागि संकलन गरिएको छ । संसद बैठक बस्नुअघि परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।