बाजुरा ।
बुढीगंगा नगरपालिकाको त्रिशक्ति माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा बसेकाहरु गुणस्तरहीन चामलका कारण बिरामी परेका छन् । म्याद नाघेको चामलका कारणा क्वारेन्टाइनमा रहेका सर्वसाधारणलाई पखाला लागेको हो ।
लकडाउनको मौका छोपेर व्यापारीले म्याद सकिएको चामल बिक्री गरेकै कारण सर्वसाधारण बिरामीसमेत परेपछि ल्याब परीक्षण गर्न लागिएको बूढीगङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दीपक शाहले बताउनुभयो । नगरपालिकाले खरिद गरेका चालमको म्याद नै नाघेको र मार्करले नयाँ मिति लेखिएको अवस्थामा भेटिएको भनी चौतर्फी विरोध हुन थालेपछि चामलको गुणस्तर मापन गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख शाहको भनाइ छ ।
चौतर्फी आलोचना र विरोधपछि जिल्ला प्रशासनले त्यसको वास्तविकता के हो ? भनेर नगरपालिकालाई पत्राचार गरिसकेको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिनुभयो । प्रशासनको पत्रपछि नगरपालिकाले नगर उपप्रमुख तारा खातीको नेतृत्वमा छानबिन समिति बनाएको छ ।
क्वारेन्टाइनमा प्रयोग गरिएको चामलको म्याद सन् २०१७ फ्रेबुअरीसम्म लेखिएकाे रछ । तर व्यापारीले त्यसमा मार्करले लेखेर सन् २०२० सम्म बनाएका छन् । चामल स्थानीय व्यापारी सुनिल बानियाँको पसलबाट खरिद गरिएको हाे ।