कञ्चनपुर ।
खेल्ने क्रममा विष्फोटक पदार्थ पड्किएर एक बालक घाइते भएका छन् । महाकाली नगरपालिका–८ शान्तिटोलका ९ वर्षीय महेन्द्र नेपाली विष्फोटक पदार्थ पड्किएर घाइते भएका हुन् ।
महाकाली नदी किनाराको पटेराघारीमा भेटिएको वस्तु खेलाउने क्रममा पड्किँदा बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बालकको हातमा चोट लागेको छ ।
बालकको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । विष्फोट भएको वस्तु पटाका बनाउन प्रयोग हुने लोएक्सप्लोसिभ पदार्थ रहेको उल्लेख गर्दै उपरीक्षक पौडेलले विष्फोटक पदार्थ घातक नभएको बताउनुभयो । उहाँले विष्फोटक पदार्थ कहाँबाट आयो भन्नेबारे अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।
स्थानीय बासिन्दाका अनुसार जङ्गली बँदेल, माछालगायत मार्नका लागि चोर शिकारीले विष्फोटक पदार्थ राखेको हुनसक्ने आशङ्का छ ।