काठमाडौं ।
बहराइनमा हालसम्म २ सय ४५ नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मनमास्थित नेपाली दूतावासका अनुसार मंगलबारसम्ममा बहराइनमा एक हजार ९५० जनामा कोरोना संक्रमण हुँदा नेपाली संक्रमितको संख्या २ सय ४५ पुगेको हो ।
बहराइनमा कोरोना जितेर डिस्चार्ज हुनेको सङ्ख्या पनि एक हजार ७६२ पुगेको छ । बहराइनमा कोरोना सङ्क्रमणबाट आठ जनाको ज्यान गएको छ । बहराइनले हालसम्म एक लाख ५५ हजार ५०१ जनामा कोरोना परीक्षण गरेको छ ।
ठूलो सङ्ख्यामा नेपालीमा कोरोना सङ्क्रमण देखिएपछि दूतावासले सार्वजनिक स्थानमा जाँदा अनिवार्यरुपमा मास्क लगाउन सबैलाई आग्रह गरेको छ । कुनै स्वास्थ्य समस्या आइपरे तत्कालै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ ।
बहराइनमा रहेका नेपालीले भोग्दै आएको समस्या समाधान गर्न दूतावासले अनलाइन फारम भर्ने व्यवस्था गरेको छ । दूतावासले फाराममा उल्लेखित विवरण भरेर सहयोग गर्न सबै नेपालीलाई आग्रह गरेको छ ।