काठमाडौं ।
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को बुधबार भएको सचिवालय बैठकबाट प्रधानमन्त्री केपी ओली अकस्मात् बाहिरएपछि राजनीतिक वृतमा अहिले अनेक टिकाटिप्पणी भइरहेको छ ।
कतिपयले बैठकमा चर्काचर्की भएपछि प्रधानमन्त्री ओली बैठकबाट बाहिरिनुभएको बताएका छन् । तर यथार्थ अलि फरक छ । नेकपाको भोलि (बिहीबार) हुने भनिएको स्थायी समिति बैठकको एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री निवासमा बुधबार दिउँसो सचिवालय बसेको हो ।
सचिवालय बैठक दिउँसो सवा ३ बजे शुरु भएको थियो । प्रधानमन्त्री ओली बैठक शुरु हुनासाथ आफ्ना कुरा राखेर बाहिरिनुभएको हो । प्रधानमन्त्री ओलीले शुरूमै आफ्ना कुरा राखेर बाहिरिनु भएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभएको छ ।
‘बैठकको शुरुमा प्रधानमन्त्री बोल्नु भयो, उहाँले स्थायी समिति बैठक नराखौ, आज म अलि थाकेको छु हिँडेँ भन्दै बैठकबाट बाहिरिनु भयो’ बैठकमा सहभागी वरिष्ठ नेता खनालले जनतासमाचारसँग भन्नुभयो, ‘प्रधानमन्त्री बाहिरिएपछि हामी (सचिवालयका अन्य साथीहरु) पनि प्रचण्डजीलाई तपाई दुई अध्यक्ष छलफल गरेर टुंग्याउनुस् भन्दै हिड्यौ ।’