काठमाडौँ।
व्यग्रतापूर्वक प्रतिक्षा गरिएको सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरू भएको छ । प्रधानमन्त्रीको व्यस्तताका कारण निर्धारित समयभन्दा डेढ घण्टा ढिलो शुरु भएको बैठकले नेकपाभित्रको सत्ता संघर्षको समाधान गर्ने अपेक्षा गरिएको छ । बैठक अहिले जारी छ ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको कुर्सी जोगिन कि नजोगिने भन्ने टुंगो लगाउन डाकिएको बैठकमा अर्का अध्यक्ष पुष्मकमल दाहालको कुर्सी र बस्ने ठाउँ फेरिएको छ ।
बिगतका बैठकमा एक्लै बसेका अध्यक्ष ओलीले आजको बैठकमा भने दाहालका लागि आफ्नै छेउमा कुर्सी राखेका छन् ।
गत बुधबार बसेको बैठकमा बहुमत सदस्यले ओलीलाई दुवै पदबाट राजीनामा दिन भनेपछि प्रधानमन्त्रीले कोरोना संक्रमण सकिएपछि वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए ।
त्यसपछि नेकपाको विवादले नयाँ मोड लिएको छ । आजको बैठकअघि प्रधानमन्त्री ओलीले गौतम, सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेलसँग छलफल गरेका थिए । उनीहरुबीच के छलफल भयो भन्ने कुरा आइसकेको छैन ।
सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए । राष्ट्रपतिलाई भेट्नुअघि प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटार बोलाएर छलफल गरेका थिए । वामदेवसँगै सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेलसँग ओलीले छलफल गरेका थिए ।