काठमाडौँ |
रेडियो नेपालकी प्रथम गायिका तथा प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको ८४ वर्षको उमेरमा निधन भएको छ । सिनमंगलस्थित काठमाडौं मेडिकल कलेजमा बिहीबार राति १०: ५५ मा निधन भएको उनको वृत्तचित्र ‘५६ वर्षपछि…’ बनाएका गायक तथा संगीतकार सुमित खड्काले पुष्टि गरे । उनको बिहीबार राति नै अन्त्येष्टि गरिएको छ ।
अल्जाइमर्स र पार्किन्सन्सबाट पीडित रानुदेवीलाई बिहीबार नै अस्पताल लगिएको थियो । अस्पताल लगिएको केहीबेरमा उनको निधन भएको हो ।
रानुदेवीको बाल्यकाल बनारसमा बितेको थियो, त्यहीँ रहँदै उनमा शास्त्रीय संगीतप्रति लगाव बसेको थियो । तारिणीप्रसाद कोइरालाको प्रेरणामा उनी राणाशासनविरुद्धको लडाइँमा कला र सांगीतिक मोर्चामा होमिएकी थिइन् । २००६ सालमा रेडियो नेपालमा उनका ६ गीत रेकर्ड भएका थिए । त्यसअगावै पनि उनी विराटनगरमा जागरण गीत गाउने गर्थिन् । उनका ‘जुनेली रात हजुर…’, ‘जागे नेपाली उठे नेपाली…’ लगायत गीत चर्चित छन् । तारिणीप्रसादकै शब्द/संगीतमा कलकत्तामा पनि उनको गीत रेकर्ड भएको थियो ।
नेपाली राजनीतिकी आदर्श व्यक्तित्व नोना कोइरालाकी बहिनी हुन्, रानुदेवी । इतिहासमा स्नातकाेत्तर रानुदेवीले २०२३ देखि २०५३ सालसम्म अध्यापन गरेकी थिइन् । २००६ सालमै उनको विराटनगरका तीर्थप्रसाद अधिकारीसँग विवाह भएको थियो । त्यति बेला उनी ८ कक्षामा पढ्दै थिइन् । उनका एक छोरा र दुई छोरी छन् ।
छाेरा र जेठी छाेरी अमेरिकामा बस्छन् । उनी कान्छी छोरीसँग काठमाडौंमा बस्दै आएकी थिइन् ।