लण्डन ।
संसारभर कोरोना संक्रमितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु नै सबैभन्दा बढी जोखिममा छन् भने सबैभन्दा बढी धन्यवादका पात्र बनेका छन्।
त्यस्तै बेलायतमा पनि कोरोना भाइरसको महामारीविरुद्ध फ्रन्टलाइनमै कार्यरत ‘नेशनल हेल्थ सर्भिस’ (एनएचएस) का स्वास्थ्यकर्मीहरुको कामको अहिले सबैको प्रशंसा गरिरहेका छन्।
आफ्नो र परिवारकै स्वास्थ्यको समेत जोखिम मोलेर सेवामा खटिएका उनीहरुलाई धन्यवाद दिन र हौसला बढाउन हरेक साता विहीबार बेलुका ८ बजे देशैभरका सर्वसाधारणले घरबाहिर निस्केर ताली बजाउने गरेका छन् । ताली बजाएर स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिने ट्रेन्ड इटालीबाट शुरु भएर पोर्चुगल, स्पेन, फ्रान्स, बेलायत हुदै संसारभर फैलियो।
बेलायतमा भने यो साता स्वास्थ्यकर्मीहरुलाई एउटा गज्जबकै शैलीमा नेपालीले धन्यवाद दिए। यो साता पासा पुचः यूकेका दुई प्रतिनिधिले भने लण्डनको एक अस्पतालकै गेटमा बसेर मौलिक धिमेबाजा बजाउँदै ‘एनएचएस’ स्टाफलाई धन्यवाद ज्ञापन गरेका छन् ।
पासा पुचः साउथ ईस्ट लण्डनका अध्यक्ष सुशील प्रजापति र संस्थापक अध्यक्ष कुमार श्रेष्ठले वुल्वीच नजिकको ‘क्वीन एलिजावेथ’ अस्पताल पुगेर नौलो शैलीमा ‘एनएचएस’ स्टाफको हौसला बढाउने कोशिस गरेका हुन् ।
पासा पुचः साउथ ईस्ट लण्डनका अध्यक्ष प्रजापतिले भने , “एनएचएस स्टाफको समर्पण र योगदानको लागि सबैले धन्यवाद दिइरहेका छन् । हामीले पनि आफ्नै सांस्कृतिक बाजा बजाएर नेपाल तथा अन्तराष्ट्रिय समुदायबाट धन्यवाद दिदै सोलिडारिटी देखाएका हौँ।”
हेरौं भिडियो :