डोटी।
डाेटीमा राहत वितरणका क्रममा वडाध्यक्षमाथि कुटपिट भएको छ। जिल्लाको केआईसिंह गाउँपालिका- ४ का वडाध्यक्ष जयबहादुर धामीमाथि कुटपिट भएको हो। कुटपिटबाट बेहोस भएका धामीलाई उपचारका लागि दिपायल लगिएको छ।
कुटपिटमा संलग्न ४ जनामध्ये केआईसिंह- ४ लेककोटका लाल नेपाली, सोही वडाको कार्कीबगरका लोक कार्की र मोहन कार्कीलाई प्रहरीले पक्राउ गरेको दुर्गामाण्डौ प्रहरीचौकी इन्चार्ज भाष्करराज पन्तले जानकारी दिए। पन्तले कुटपिटमा संलग्न व्यक्तिलाई कानुनअनुसार कारबाही अघि बढाइने बताए। धरपकटका क्रममा प्रहरीमाथि समेत आक्रमण भएको थियो।
वडा नं. ४ मा मंगलबारबाट राहत वितरण भइरहेको छ। हर्नियाको शल्यकृया भएकाले पेटमा चोट लागेपछि उनी बेहोस भएको बताइएकाे छ।
राहतका लागि ल्याइएको खाद्यान्न राख्ने भण्डारमा उनीहरुले जबर्जस्ती ताला लगाउन खोजेपछि वडाध्यक्ष र प्रहरीले रोक्न खोज्दा चार जनाको समूहले आक्रमण गरेकाे थियाे। कुटपिटमा संलग्न नेकपाका कार्यकर्ता रहेको गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले दाबी गरे। उनले हतारमा तथ्यांक संकलन भएकाले छुटेका विपन्न परिवारलाई दोस्रो चरणमा राहत दिने सार्वजनिक रुपमा जानकारी दिँदादिँदै पनि हातपातमा गर्नु दण्डनीय कार्य भएको बताए।
भोइस अफ नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई voiceofnepal.tv@gmail.com मा पठाउनु होला।