लकडाउन अन्त्य गर्ने तयारीमा युरोप

एजेन्सी ।

युरोपियन मुलुक चेक रिपब्लिकले शुक्रबारदेखि जनतामाथि लगाएको प्रतिबन्ध हटाएको छ । चेक स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारदेखि १० जनाभन्दा बढी व्यक्तिहरुको समूह जमघट गर्न पाउनेछन् । उक्त संख्यामा मानिसहरु हिँडडुल पनि गर्न सक्ने छन् । त्यहाँ १६ मार्चदेखि लकडाउन सुरु भएको थियो ।

आगामी सोमबारदेखि त्यहाँका नागरिकलाई देश बाहिर जान पनि छुट दिइएको छ । तर देशबाहिर जानेहरुले सरकार र विश्व स्वास्थ्य संगठनहरुले अघि सारेका कडा सर्तहरु भने पालना गर्नुपर्नेछ । तर युरोपियन युनियन बाहिरका व्यक्तिहरुले भने सीमामा स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश पाउनेछन् । उनीहरुमा हालसालै कोरोना संक्रमण नभएको प्रमाण पुष्टि हुनुपर्छ ।

त्यस्तै कोरोना महामारीबाट विश्वकै सबैभन्दा बढी प्रभावित देशहरुमध्येमा पर्ने इटालीमा पनि लकडाउन समाप्त गर्दै लैजाने तयारी सरकारले गरेको छ । इटालीमा लकडाउन समाप्त गर्ने दोश्रो चरणको तयारीमा सरकार लागिरहेको छ । १४ अप्रिलदेखि त्यहाँ लकडाउनलाई सिमित गरिँदै लगिएको छ ।

पहिलो चरणमा त्यहाँ खाना र औषधी पसलका साथै साना पसलहरुलाई खोल्न अनुमति दिइएको थियो । अब दोश्रो चरणमा सार्वजानिक यातायातका अतिरिक्त निर्माण लगायतका काम सावधानीका साथ गर्नका लागि खोल्ने तयारीमा सरकार लागेको छ ।

श्रोतहरुकाअनुसार सोमबारबाट इटालीमा पनि लकडाउन खोल्ने दोश्रो चरणको तयारी सरकारले गरेको छ । त्यहाँ मार्च १२ देखि पूर्णरुपमा लकडाउन घोषणा गरिएको थियो । इटाली अहिले कोरोना महामारीबाट अमेरिकापछिको सबैभन्दा बढी प्रभावित मुलुक हो । त्यहाँ २५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भैसकेको छ भने १ लाख ९२ हजारभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, अर्को युरोपियन मुलुक बेल्जियमले पनि मे ४ देखि लकडाउनलाई केही खुकुलो पार्ने तयारी गरेको छ । विज्ञहरुको एउटा टोलीले मे ४ देखि केही खुकुलो बनाउन योजनाहरु अघि सारेका छन् । त्यहाँ १८ मेदेखि सर्वसाधारणहरुका लागि निकै राहत हुने किसिमले लकडाउन खोल्ने तयारी हुँदैछ ।

मे १८ पछि सर्वसाधारणहरुका लागि कपाल काट्ने सैलुनदेखि विद्यालयहरु सम्म खुलाउन सकिने विज्ञहरुले सुझाव दिएका छन् । बेल्जियममा कोरोना संक्रमणबाट मर्नेको संख्या ६ हजार ६ सय ७९ पुगेको छ भने संक्रमितको संख्या ४४ हजार २ सय ९३ पुगेको छ । –बीबीसी

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार