नवलपरासी ।
राहत वितरणका विषयमा स्थानीयबीच विवाद हुँदा प्रहरी सहायक निरीक्षक (असई) घाइते भएका छन् ।
रामग्राम नगरपालिका–१७ देवगाँवमा राहत वितरणका विषयमा विवाद हुँदा असई चामबहादुर ओलीको टाउकोमा चोट लागेको हो ।
बुधबारदेखि नगरपालिकाले राहत वितरण गरेको थियो ।
शुक्रबार स्थानीयले सबैलाई राहत सामाग्री नपुगेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।
हुनेखानेले नै राहत पाएकाे र वास्तविक विपन्नले राहत नपाएकाे भन्दै स्थानीयले आक्रोश व्यक्त गरिरहेका थिए ।
ताला खोल्न भनि वडा कार्यालय पुगेका प्रहरीमाथि स्थानीयको समुहले नै आक्रमण गरेको बताइएको छ ।
ओलीमाथि क्रिकेटको ब्याट प्रहार भएको प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीमाथि आक्रमण गरी घाइते बनाउने एक महिलासहित प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।