काठमाडौं।
बेलायतमा कोरोनाभाइरसका कारण थप तीन जना नेपालीको मृत्यु भएको छ ।
कोरोना सङ्क्रमणका कारण छिल्लो समयमा मृत्यु हुनेहरुमा गोपाल शाही, बीमा नाछिरिङ राई र हंशराज लिङ्देन हुनुहुन्छ ।
प्यूठान पुरानो घर भएका ७२ वर्षीय गोपाल शाहीलाई कोरोनाको सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना गरिएको र उपचारका क्रममा उहाँको मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिनुभयो ।
यस्तै खोटाङ घर भई हाल बेलायतको ननिटनमा बस्ने बीमा नाछिरिङ राईको पनि उपचारका क्रममा जर्ज इलिट अस्पतालमा मृत्यु भएको छ ।
उहाँ भूपू गोरखा सैनिकको छोरी रहेको र गत वर्ष मात्र बेलायत गएको बताइएको छ ।
त्यस्तै कोरोना सङ्क्रमणबाट बेलायतको रेडिङ शहरमा बस्दै आएका ६५ वर्षीय हंशराज लिङ्देनको पनि रोयल बर्कसायर अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँका नातेदार विजयविक्रम लिङदेलले जानकारी दिनुभएको छ ।