सरकारले गलत नियत राखेर अध्यादेश ल्याएको विपक्षी चार दलको ठहर

काठमाडौं ।

नेपाली कांग्रेससहित विपक्षी चार दलले सरकारले गलत नियतका साथ राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको ठहर गरेका छन् । साथै समय पनि गलत भएको भन्दै तत्काल फिर्ता लिन माग गरेका छन् ।

सरकारले हालै मात्र राजनीतिक दल फुटाउन खुकुलो बनाउने तथा विपक्षी दलका नेता विना नै संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी दुई अध्यादेश ल्याएको थियो ।

बुधबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको समाजवादी, राजपा र राप्रपाको बैठक बसेको थियो । नेताहरुले अध्यादेश गलत नियतको साथ आएको बताएका छन् । ‘दुवै अध्यादेश जे नियत र जस्तो समयमा आएको छ, त्यो गलत छ भन्ने सबै नेताहरुको जोड रह्यो’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘सबैले यसको नियतमा प्रश्न गर्नुपर्छ र सबै गोलबन्द भएर फिर्ता लिन सरकारलाई भन्नुपर्छ भन्नु भएको छ ।’

बैठकमा राष्ट्रिय जनमोर्चाका नेताहरु उपस्थित थिएनन् । तर अध्यक्ष चित्रबहादुर केसीले परिवारको सदस्य बिरामी भएका कारण आफू आउन नपाएको तर आफूहरु अध्यादेशको विपक्षमा रहेको सन्देश पठाएको कांग्रेस उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।

स्रोतकाअनुसार नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का नेताहरुलाई बैठकमा बोलाइएको थियो । तर छलफल गरेर खबर गरौंला भनेका नेताहरुले केही जवाफ दिएनन् ।

नेताहरुकाअनुसार संसदमा नरहेका दलहरुसँग पनि छलफल गरेर साझा धारणा बनाउने प्रयास हुनेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार