– एजेन्सी
अमेरिकामा लकडाउनको विरोध तीव्र गतिमा बढ्न थालेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरू त्यसमा जोडतोडका साथ लागेका छन् ।
ट्रम्पले ट्वीट गरेरै त्यस्ता प्रदर्शनको समर्थन गरेका थिए । अमेरिकाका विभिन्न राज्यमा बजार खोल्न र स्वतन्त्रता दिन माग गरिएको छ ।
सोमवार ओहायोमा आफूलाई नागरिक सेना भन्ने एक समूहले हतियासहित प्रदर्शन गरेको छ । हतियार बोकेका युवाले अनुहार छोपेका थिए । पेन्सिल्भेनिया लगायतका ठाउँमा पनि अनेकौं युवाले हतियार सहित प्रदर्शन गरे ।
क्यालिफोर्नियामा प्रदर्शनकारीहरूले रोड जाम गरे । विरोधकर्ताले सामाजिक दूरीका नियम पनि पालन गरेनन् ।
फेसबूकले एन्टी लकडाउनसँग सम्बन्धित अनेकौं पेज बन्द गरिदिएको छ । प्रदर्शनकारीहरूले अभिव्यक्ति स्वतन्त्रता रोकेको आरोप फेसबूकमाथि लगाएका छन् ।
लकडाउन लम्ब्याइरहँदा अमेरिकी अर्थतन्त्रमा गम्भीर खतरा आइलाग्ने र मानिसहरू मर्ने प्रदर्शनकारीहरूको भनाइ छ । लकडाउनकै कारण अमेरिकामा करोडौं मानिसले जागिर गुमाइसकेका छन् ।