संघमा राजनीति भएको भन्दै एनआरएनए अल्गार्भका महासचिवले दिए राजीनामा

लिस्बन।

गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अल्गार्भका महासचिव केशवप्रसाद न्यौपानेले राजीनामा दिएका छन् । संस्थामा राजनीति भएको उल्लेख गर्दै उनले एनआरएनएमा राजीनामा दिएको उल्लेख गरेका छन् ।

उनले आफ्नो राजिनामा पत्रमा लेखेका छन् , ” नि-वर्तमान सदस्य कृष्ण प्रसाद अधिकारीले दिएको राजिनामा माथि सामाजिक संजालमा बहस र खण्डन गर्ने क्रममा यस संस्था (गैह्र-आवासीय नेपाली संघ, क्षेत्रिय समन्वय परिषद अल्गार्भ) का सचिब श्री सन्दिप अर्याल ज्युले जिम्मेवार पदमा बसेर पनि सार्वजनिक रुपमै आँफु पार्टीगत संस्थासँग आवद्ध भएको प्रमाण सहित दिएका कमेन्टहरुले संस्थागत बिधानलाई धावा बोल्दै हाम्रो सँस्थाको इज्जत सम्मान र प्रतिष्ठा माथि आँच आएकोले संस्थाको बिधान र नियम अनुसार कारबाही गरिनुपर्छ। ”

गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अल्गार्भका सचिव सन्दिप अर्यालले नयाँ बर्षको शुभकामना कार्डमा नेपाली कांग्रेस र नेपाल बिद्यार्थी संघको झन्डा राख्दै आफु एनआरएनएको सचिव पदमा रहेको उल्लेख गरेका थिए। एनआरएनएको बिधान र आचारसंहितामा स्पष्ट उल्लेख गरिएको छ कि संघको कार्यसमितिमा रहेका कुनै पनि ब्यक्तिले सक्रिय राजनीतिमा संलग्न हुन पाउदैनन्। एनआरएनएको सचिवले पदको दुरुपयोग गर्दै राजनीतिक संगठनको झन्डा बोकेपछि विवाद चुलिएको हो।

एनआरएनए अल्गार्भका सचिव सन्दिप अर्यालले प्रेषित गर्नुभएको नयाँ बर्षको शुभकामना कार्ड

संघमा राजनीति गर्ने र राजनीतिक पार्टीको शक्ति प्रदर्शन गर्नेहरुलाई पनि कारवाही गर्नुको साटो संरक्षण गर्ने गरेको आरोप समेत लगाएका छन्।

यस अघि अल्गार्भका सदस्य कृष्ण अधिकारीले अप्रिल १६ तारिख अर्थात तीन दिन अघि मात्र राजीनामा दिएका थिए । न्यौपानेले संस्थाको कार्यकारी पदबाट औपचारिक रुपमै राजीनामा दिए पनि सम्पूर्ण नेपाली समुदायको दुखसुखमा अझै बढी मिहिनेतका साथ सदैव रहिरहने प्रतिवद्धता जनाएका छन् ।

 

उनको राजीनामाको पूर्ण पाठ :

मिति: १९ अप्रिल २०२०

श्रीमान् अध्यक्ष ज्यू,

गैह्र-आवासीय नेपाली संघ,

क्षेत्रिय समन्वय परिषद अल्गार्भ ।

विषय :- राजिनामा सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा हाम्रो यस सँस्थाका नि-वर्तमान सदस्य कृष्ण प्रसाद अधिकारीले दिएको राजिनामा माथि सामाजिक संजालमा बहस र खण्डन गर्ने क्रममा यस संस्था (गैह्र-आवासीय नेपाली संघ, क्षेत्रिय समन्वय परिषद अल्गार्भ) का सचिब श्री सन्दिप अर्याल ज्युले जिम्मेवार पदमा बसेर पनि सार्वजनिक रुपमै आँफु पार्टीगत संस्थासँग आवद्ध भएको प्रमाण सहित दिएका कमेन्टहरुले संस्थागत बिधानलाई धावा बोल्दै हाम्रो सँस्थाको इज्जत सम्मान र प्रतिष्ठा माथि आँच आएकोले संस्थाको बिधान र नियम अनुसार कारबाही गरिनुपर्छ। यहि विषयमा समग्र कार्यसमितको बैठकमा प्रस्ताव गर्दा अन्य सदस्यहरुले यस बिषयलाइ अत्यन्तै सामान्य रुपमा लिएको र सचिबज्यूले मौखिक माफी मागिसकेकोले माफी दिनुपर्ने जिकिर भएको थियो । यो र यस्ता खालका क्रियाकलापहरु मलाई सामान्य लाग्दैनन।

यसरी संरक्षणका प्रयास भइरहनु भनेको सामाजिक संस्थामा राजनितीलाई संस्थागत गर्नु हो । यस्तो खालको संरक्षणलाई जोड दिने र समर्थन गर्ने संस्थाको सारथी हुनु भनेको पार्टीको कार्यकर्ता हुनु सरह हो भन्ने महशुस गरेको छु । त्यसैले यस सँस्थालाई कुनै पार्टी वा एकल ब्यक्तिको मातहतमा रहि प्रचारको अखडा सरह चलाउन लागिएको महसुस भएको छ । फलस्वरूप म यश संस्थामा नैतिक रुपले बस्न आँफैले अप्ठ्यारो महशुस गरेको छु ।

यदि संस्था यसरी नै चल्दै जाने हो भने यहाँको नेपाली समुदायमा निश्चित पार्टी र व्यक्तिको इच्छा अनुसार संस्था चल्दोरहेछ । उही पार्टी प्रति आस्थावान निकटतम ब्यक्तिहरुका लागि मात्रै बनेको संस्था रहेछ भन्ने खालको भाव जनमानसमा पर्नसक्छ। तसर्थ आजका मिति देखि यस संस्थाको कार्यसमितिको महासचिब पदबाट राजिनामा दिने निर्णय गरेको छु ।

अन्त्यमा, म यस संस्था भन्दा बाहिर भएपनि सँस्थाका साथीहरुसंग व्यक्तिगत रुपमा कुनै रिस ,राग र तिक्तता नरहेको पनि जानकारी गराउन चाहन्छु । साथै यस संस्थाले गर्ने हरेक सकारात्मक काममा आँफू बसेको समाज र सम्पुर्ण नेपाली समुदायमा पर्ने काम तथा सहयोगमा कुनै कमि हुन नदिने सम्पूर्ण नेपाली समुदायमा जानकारी गराउँदछु ।

केशवप्रसाद न्यौपाने

महासचिब

गैह्र-आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय परिषद अल्गार्भ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार