– हिक्मत थापा
डेमोक्रेटिक रिपब्लिक अफ कंगोका एक नेपाली साथीसँग भर्खरै च्याट भयो । उनले निराश हुँदै भने, ‘हिजो बेलुकी मात्रै एक भारतीय साथीको कोरोनाले मृत्यु भयो । औषधी गर्न अस्पताल पनि भेटिएन । भएको एउटै अस्पतालका सबै डाक्टर संक्रमित भएर कोही क्वारेन्टाइन, कोही आइसोलेसनमा बसेका रहेछन् । बिरामी भइएको छ तर उपचारमा जाने अस्पतालै छैन ।’
जीवन–मरणको स्थिति आएपछि अब आफ्नै गाउँठाउँमा फर्कने निधो भयो। त्यसका लागि कंगोको कूटनीतिक सहप्रमाणीकरण मामिला हेर्ने दक्षिण अफ्रिकास्थित नेपाली दूतावासमा निवेदन पठाइयो। दिनहरू बितेर गए तर दूतावासबाट कुनै सुनुवाइ भएको छैन।
हिजो अफ्रिकाका दुईमध्ये म बसेको भूगोलका आधारमा नजिकको नेपाली दूतावासमा फोन गरेँ। एक अधिकृतले फोन उठाए। आफ्नो नाम र यो देश (नाइजेरिया) बाट भन्दै थिएँ, उताबाट ठाडो जवाफ आयो– ‘तपाईंलाई अर्को दूतावास नजिक पर्छ। उता फोन गर्नुस् न।’
दुई सातायता हामीले एउटा ‘अफ्रिका ग्रुप–च्याट’ बनाएका छौं। यो समूहमा जन्जिबारका एक जना साथी पनि थिए। एकाएक उनी कुराकानीबाट अलग्गिए। उनको गुनासोपछि थाहा भयो, ‘टिकट खर्च आफैं बेहोर्छु’ भन्दा पनि नसमूहले घर फर्कन सक्ने प्रबन्ध गर्न सक्यो न त कहीँकतैको गैरआवासीय नेपाली संघले कुनै उपाय दिन सक्यो। बेकारको रोइलो गरेर बस्नुभन्दा ग्रुपबाटै बाहिर निस्कनु बेस भनेर उनी अलग्गिएका रहेछन्। यस्तो कठिन बेलामा केही भनेर सम्झाउन पनि सकिएन। किनभने आश्वासन मात्रैले केही हुने स्थिति पनि छैन।
आज कस्तो अनौठो अवस्था सामुन्ने छ भने हाम्रो आफ्नै सरकारले हामीलाई नचिनेको हो कि झैं स्थिति देखिएको छ। राष्ट्रपति, प्रधानमन्त्री तहमा बाहिरी विश्वमा रहेका नेपालीको स्थितिबारे कुराकानी भइरहेको समाचारमा पढिन्छ। तर, यो बाहिरी विश्वमा अफ्रिका महादेश, अफ्रिकी मुलुकहरू नपर्ने रहेछन् कि भन्ने बोध भएको छ।
हिजो अफ्रिकाका दुईमध्ये म बसेको भूगोलका आधारमा नजिकको नेपाली दूतावासमा फोन गरेँ। एक अधिकृतले फोन उठाए। आफ्नो नाम र यो देश (नाइजेरिया) बाट भन्दै थिएँ, उताबाट ठाडो जवाफ आयो– ‘तपाईंलाई अर्को दूतावास नजिक पर्छ। उता फोन गर्नुस् न।’
यो महामारीका बेला संकटबोध गरेरै आफ्नो दूतावासमा फोन गरिएको हुन्छ। हाई–हेल्लो वा भलाकुसारी गर्न होइन। दूतावासमा फोन गर्नुको अपेक्षा आवश्यक सहयोग र सूचना पाइन्छ कि भन्ने हो। तर, सरकारी अधिकारी स्वयम् तर्किएको स्वरमा ‘यता होइन उता’ भनिरहेछन्। यो जवाफले दिक्क बनाउँछ नै।
आइभोरी कोस्टका नेपाली साथीहरूको चिन्ता पनि उस्तै छ। त्यहाँ पनि संक्रमण बढ्दो छ। न सरकारले ‘लकडाउन’ गरेको छ न त जनताले सावधानी अपनाएका छन्। साथीले त्यहाँको डरलाग्दो स्थिति सुनाइरहेका थिए। ‘आफू सजग रहनुहोला, सावधान रहनुहोला’ भन्नुबाहेक विकल्प थिएन। त्यत्रो आन्तरिक द्वन्द्व, हजारौंको हत्या र लाखौंको आन्तरिक विस्थापन बेहोरेको समाजका लागि यो प्रकोपलाई सामान्य ठानिएको होला।
वास्तवमा अफ्रिकी देशहरूमा स्वास्थ्य सुविधा, उपकरण, अस्पताल तथा चिकित्सकको उपलब्धता एकदमै न्यून छ। कोरोना भाइरस संक्रमणका कारण चीन, अमेरिका, युरोपपछि अब अफ्रिकी मुलुकहरू महमारीको इपिसेन्टर बन्दै छन्। अफ्रिकाभरका ५४ मध्ये ४० भन्दा बढी राष्ट्रमा नेपालीको उपस्थिति देखिन्छ, अधिकांशतः दक्ष कामदारका रूपमा। यहाँ ७ हजारभन्दा बढी नेपाली छन्।
आज अफ्रिकी मुलुकमा बस्ने धेरै नेपालीको समवेत स्वर सुनिन्छ– यताको स्थिति अझ असहज बन्दै गएमा के गर्ने? कता जाने? कसरी जीवन धान्ने? किनभने आफ्नै सरकारले पनि अहिलेसम्म हामीमाथि सरोकार देखाएको छैन। आज अमेरिकाजस्तो सुविधासम्पन्न देशमा त हाम्रा दाजुभाइ अस्पतालले भर्ना लिन नमानेका कारण उपचारहीन भएर ज्यान गुमाइरहेका छन्। यस बेला आफैमा दह्रो आत्मविश्वास राख्नुबाहेक के नै गर्न सकिन्छ र?
यी तमाम निराशाका बीच यो साता अफ्रिकाका साथीहरू मिली एनआरएनए अफ्रिका राहत कोष बनाएका छौं। १० हजार डलरभन्दा बढी रकम जम्मा भइसकेको छ। आपसी सहयोग, उद्धार र समन्वयको कुरामा यो विपत्ति कोष पनि एउटा आत्मविश्वासको सेतु बनेको छ। तर, यो स्रोतसाधन र मुस्किलले जोडिएको आत्मविश्वासका माझ हामीले अरू केही होइन, आफ्नो राज्यको, आफ्नो सरकारको उपस्थिति बोध गर्न चाहेका छौं। इजिप्ट र दक्षिण अफ्रिकामा रहेका दुई दूतावासका कार्यक्षेत्र, परिधि र बाध्यता आफ्नै होलान् तर हामीलाई केही संकट आइपर्दा हामीलाई हाम्रो नेपाल सरकारले उद्धार र जीवनरक्षा गर्नेछ भन्ने झिनो आशाभरोसा मात्रै चाहेका हौं। अरू सहज बेलामा त आफैंले परेको जे पनि गर्न सकिएकै हो। यो मुस्किलको घडीमा आफ्नो मुलुकको ‘प्रिजेन्स’ सम्झिएका मात्रै हौं।
(एक दशकयता नाइजेरियाको लागोसमा बस्दै आएका थापा गैरआवासीय नेपाली अभियन्ता हुन्)