भोला लामिछाने।
स्पेनले एक महिनाभन्दा लामो समयदेखि जारी रहेको लकडाउनलाई केही खुकुलो पारेको छ । कोभिड–१९ का कारण मृत्यु हुनेको संख्यामा कमी आउन थालेपछि देशको अर्थतन्त्रलाई गति दिन लकडाउन खुकुलो पारिएको सरकारले जनाएको छ ।
सोमबारबाटै केही निर्माण तथा उत्पादनका क्षेत्र सुरु गर्ने अनुमति दिइएको स्पेनी अधिकारीहरुले बताएका छन्।
सरकारले त्यस्ता क्षेत्रका कामदारका लागि केही निश्चित नियम र निर्देशिका पनि जारी गरेको छ। जसअनुसार कम्पनीका मालिकले कामदारका लागि व्यक्तिगत रक्षात्मक कवच (पीपीई) उपलब्ध गराउनुपर्ने छ भने सबै कामदारले काम गर्दा कम्तीमा दुई मिटरको सामाजिक दूरी कायम गनुपर्नेछ। कामदारलाई सार्वजनिक यातायात प्रयोगमा बन्देज लगाइएको छ। निश्चित क्षेत्रमा काम गर्न खुकुलो बनाइएपनि स्पेनले कम्तिमा अप्रिल २६ सम्मका लागि पसल, बार तथा सार्वजनिक क्षेत्र भने बन्द नै हुने बताएको छ।
लकडाउनले अप्रिलको शुरुमा उच्च बिन्दुमा पुगेको मृत्युदर कम गर्न सहयोग पुगिरहेकै बेला सरकारले अर्थतन्त्रलाई गति दिन भन्दै गरेको पछिल्लो निर्णयले निम्त्याउन सक्ने सम्भावित खतराप्रति केहीले चिन्तासमेत व्यक्त गरेका छन्। केही क्षेत्रीय नेताहरु समेतले सरकारको आलोचना गरेका छन्।
कोभिड–१९ संक्रमणका कारण अमेरिका र इटालीपछि स्पेनमा धेरैले ज्यान गुमाएका छन्। मंगलबार बिहानसम्म स्पेनमा १ लाख ७० हजार ९९ जनामा संक्रमण पुष्टि भइसकेको छ भने मृतक संख्या १७ हजार ७ सय ५६ पुगेको छ। ६४ हजार ७ सय २७ जना निको भएर घर फर्किएका छन्। कोभिड–१९ का कारण स्पेनमा पछिल्लो २४ घण्टामा मात्र ५ सय १७ जनाले ज्यान गुमाएका छन्। एकै दिन ९ सय ५० जनासम्मको मृत्यु भएको स्पेनमा पछिल्ला केही दिनयता भने मृतक संख्या घट्दै गएको छ।