स्पेनबाट आफन्तको सम्झना …

– ऋचा पन्थ सिम्खडा ।

घडीको चालसँगै अघि बढेका देशहरु अहिले ब्याट्री सकिएका घडी जस्तै भएका छन् । बाहिर सिमसिम पानी परेकै कारण होला मौसम चिसो थियो । विहानी पखको चिसोले बिउँझिएकी म हतपत उठेर आफू छेउ भएको फोन हेर्न पुग्छु। मैले गएको एक महिना यता फोनमा हेर्ने भनेकै कोरोना अपडेट हो । तर आज अपडेट हेर्न नपाउँदै मोबाइलमा म्यासेज आइसकेको थियाे।

‘दिदी १ लाख ४० हजार पनि कटिसकेछ। हामी त आत्तिसकेका छाैं ।’ बहिनीको मेसेज थियाे।

करिब २५ दिनदेखि यो विरानो ठाँउको एउटा बन्द कोठामा थुनिदाँ घरको नआएको याद आयो। आज बहिनीको ३ हरफको मेसेजले झलझली आखाँ वरीपरी नचाइदियो । अनि अनयासै आँसु खस्याे । खै ! कसरी मन दह्रो बनाउ । खै ! कसरी फेरि सुनौलो विहानीको आशा गरु ! किनकी म यस्तो ठाँउमा बसेकी थिए, जहाँ दिन दुई गुणा र रात चौ गुणाको दरले कोरोना संक्रमित बढ्दै थिए र अझ २१ दिन यही कोठामा बिताउनु छ । तैपनि मन दह्रो बनाएर झिनो आशाको त्यान्द्राेलाई चुडिंन दिइन मैले ।

बुवाको फोन आँउछ। छोरी नआत्तिउ, केही लेख, किताब पढ, मुभी हेर, केही हुन्न । पहिला पनि यस्ता महामारी आउँथे अरे ! हजुरवुवाले भन्नुभएको ।

तर त्यो बेला इन्टरनेट थिएन। अहिले इन्टरनेटले गर्दा मात्र सबै थाहा भएको हो …। यस्तै यस्तै सहानुभुतिका शब्दले मनमा भएको डर अलिकति भएपनि कम हुन्थ्यो। तर बुवालाई फोनमा भन्न र मलाई यहाँ यी सबै कुराहरू सहज रुपमा लिन एकदमै गाह्रो भयो । किनकि थुनिएरनै चलेका छन् यी पछिल्ला दिनहरु ।

हप्तामा एकदिन सामान किनमेल गर्न बाहिर जाँदा डरले सताइरहन्छ । कोठामा फर्कदा यस्ताे लाग्छ, कतै मै संक्रमणको शिकार बनेर आए कि ? देशहरु जति नै विकसित भए पनि आज यो सुक्ष्म जीवाणुको अगाडी निष्कृय हुनुपरेको छ ।

आफ्ना जिन्दगीभर दुःख गरेर अब बसेर खाउँ, परिवारसंग रमाउँ भन्ने उमेरका बुढाबुढीको निधन भयो अरे भन्दा मननै कट्टक्क भएर आउँछ । अझ पार्थिव शरीरलाई परिवारले हेर्न पनि नपाउने ! ओहो , यी सबै कुरा देख्दा र यो महामारीको भयानक रुपले गर्दा त बरु देशमै मिठो नमिठो खाएर भएर पनि आमाकै काखमा बस्न पाएको भए हुन्थ्यो जस्तो लाग्छ। बहिनीसंग बिताएका वाल्यकाल आँखाभरी छ।

आम हजुरको हातको खानाको स्वाद जिब्राेमै छ।वुवा हजुरको प्रेरणा र हौसलाले म अझै बलियो भएको छु। आशा गरौँ यो खराब समयको भुमरीबाट संसारले छिट्टै छुट्कारा पाउने छ । त्यसपछि ममी म पक्कै फर्केर घर आउनेछु ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार